पाथीभरा एकेडेमीले मनायाे १३औँ वार्षिकोत्सव

भक्तपुर, २० फागुन । सुर्यबिनायकस्थित पाथीभरा एकेडेमीले १३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताकासाथ मनाएकाे छ।

एकेडेमीले नगरपालिकाका शिक्षा प्रमुख रत्न कटुवालको विशेष अतिथि तथा प्रमुख अतिथि सरिता तिमिसिना भट्टराईकाे उपस्थितिमा १३औँ वार्षिकोत्सव मनाएकाे हाे ।

प्रमुख अतिथि सरिता तिमिसिना भट्टराईले विद्यालयले गुणस्तरीय कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै अभिभावकहरूले पनि विद्यार्थीको शैक्षिक प्रगतिको लागि समय व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो।

शिक्षा प्रमुख रत्न कटुवालले विद्यार्थीलाई घरमै संस्कारयुक्त शिक्षा दिनुपर्नेमा जोड दिँदै छिट्टै विद्यालयले गृहकार्य र मूल्यांकन प्रणालीमा सुधार गर्दै घरको क्रियाकलापलाई समेत मूल्याङ्कनमा समावेश गर्ने बताउनुभयो।

कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक रमेश प्रसाद सिटौलाले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको भावी योजनाबारे प्रकाश पार्नुभयो। उहाँले विद्यालयलाई अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले पाथीभरा एकेडेमी भक्तपुरको नमुना विद्यालयका रूपमा अघि बढिरहेको बताउनुभयो।

कार्यक्रममा कक्षा पि.जी. देखि कक्षा सातसम्मका विद्यार्थीहरूले नृत्य, संगीत, नाटक तथा विभिन्न सांस्कृतिक प्रस्तुति दिँदै कार्यक्रमलाई आकर्षक बनाएका थिए।

उक्त कार्यक्रममा विद्यालय सञ्चालक समिति सदस्यहरू बुद्धि बहादुर थापा, रामचन्द्र थापा मगर, सुवासनाथ गोङल, साथै नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्का, सचिव कुमार थापा मगर, कोषाध्यक्ष विक्रम थापा, वी क्यान अध्यक्ष रत्न बहादुर राई, कोषाध्यक्ष कमल सुवाल, सदस्यहरू उर्मिला सुवाल, सरोज के.सी., शिक्षक संघ अध्यक्ष इन्द्रमणि गीरी, योग गुरु परिवेश मल्ल ठकुरी, कल्पना मल्ल ठकुरी लगायत अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त सिटौलाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *