फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका पुष्प व्यवसायी उत्साहित
पुष्प व्यवसायी
काठमाडौँ, कार्तिक १२ । तिहार नजिकिँदै गर्दा सयपत्री फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका पुष्प व्यवसायी उत्साहित भएका छन् । विगतमा बजार अभावका कारण उत्पादित फूल बारीमै कुहिएर नोक्सानी बेहोर्नुपरेका किसानले यस वर्ष तिहारअघि नै फूलको माग आउन थालेपछि राहत महसुस गरेका छन् ।
भीमदत्त नगरपालिका–१ की सिर्जना जोशी सात वर्षदेखि पुष्प व्यवसायमा संलग्न हुनुहुन्छ। उहाँले विगतमा बजार नपाउँदा ठूलो परिमाणमा फूल खेर गएको अनुभव सुनाउनुभयो। “दुई वर्षअघिसम्म फूल उत्पादन गरे पनि बजार नपाउँदा बारीमै कुहिने समस्या भोग्यौँ,” उहाँले भन्नुभयो, “गत वर्ष फूलले बजार पाएपछि राम्रो आम्दानी भयो ।”
स्थानीय प्रशासनले प्लास्टिकका माला र भारतबाट आयात हुने फूलमा रोक लगाएपछि स्थानीय उत्पादनले बजार पाउन थालेको जोशीको भनाइ छ। गत वर्ष फूलको बिक्रीबाट राम्रो आम्दानी भएपछि यस वर्ष खेती विस्तार गर्नुभएकी उहाँले तिहारअघि नै अग्रिम माग आउन थालेको बताउनुभयो । उहाँका अनुसार हालसम्म २० किलो फूलको अग्रिम बुकिङ भइसकेको छ ।
तीन सय बोट फूल रोपेर सात वर्षअघि पुष्प व्यवसाय सुरु गर्नुभएकी जोशीले अहिले भाडामा लिएको १५ कट्ठा जग्गामा फूलखेती गर्दै आउनुभएको छ । जग्गाको वार्षिक ३० हजार रुपैयाँ भाडा तिर्ने उहाँले विगतमा बजार अभावका कारण पटकपटक नोक्सानी बेहोर्नुपरेको बताउनुभयो ।
“दोस्रो वर्ष एक हजार बोट फूलखेती गर्दा बजार नपाएर सबै कुहियो। त्यसपछि चार हजार बोट लगाएर बिक्रीका लागि काठमाडौँ पठाउँदा बाटोमै फूल कुहियो,” उहाँले विगत सम्झँदै भन्नुभयो, “दुई वर्षअघि मात्रै पनि दुई क्विन्टल फूल बिक्री नभएर खेर गएको थियो ।”
गत वर्ष १० कट्ठा जग्गामा फूलखेती गर्नुभएकी जोशीले कर्मचारी तथा मजदुरको खर्च कटाएर एक लाख ५० हजार रुपियाँ आम्दानी गर्नुभएको थियो । फूलले राम्रो बजार पाएपछि यस वर्ष खेती विस्तार गर्नुभएकी उहाँले तिहारमा चार क्विन्टल फूल बिक्री गर्ने लक्ष्य राख्नुभएको छ । हाल उहाँले प्रतिकिलो ५०० रुपियाँका दरले फूल बिक्री गर्दै आउनुभएको छ ।
परम्परागत खेतीको तुलनामा फूलखेतीबाट तीन गुणासम्म बढी आम्दानी हुने भएकाले यस व्यवसायमा आकर्षण बढेको जोशीको भनाइ छ । स्थानीय उत्पादनले बजार पाउन थालेसँगै विगतको नोक्सानी पूर्ति गर्दै यस वर्ष राम्रो आम्दानी हुने उहाँले अपेक्षा गर्नुभएको छ । तिहारलगायत चाडपर्व र विभिन्न कार्यक्रममा स्थानीयस्तरमै उत्पादित फूलको प्रयोग बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
यसैगरी, भीमदत्त नगरपालिका १५ की मेघा रावल पनि फूलको बजार विस्तार हुन थालेपछि पुष्प व्यवसायमा आकर्षित हुनुभएको छ । उहाँले आफ्नै चार कट्ठा जग्गामा दुई हजार ४०० बोट फूलखेती गर्नुभएको छ। यस वर्ष फूल बिक्रीबाट एक लाख रुपैयाँसम्म आम्दानी हुने उहाँको अपेक्षा छ । फूलखेतीमा २५ हजार रुपियाँ लगानी गर्नुभएकी रावलले यस वर्ष उत्पादित फूलले राम्रो बजार पाए आगामी वर्ष खेती विस्तार गर्ने योजना बनाउनुभएको छ ।
तिहारमा सयपत्री फूलको माला, पूजाआजा र घर सजावटमा व्यापक प्रयोग हुने भएकाले यसको माग बढ्ने गरेको छ। यसबाहेक विवाह, सांस्कृतिक कार्यक्रम तथा अन्य उत्सवमा पनि सयपत्री फूलको प्रयोग हुने गरेको छ। बढ्दो मागलाई लक्षित गर्दै कञ्चनपुरका किसानले फूलखेती विस्तार गर्न थालेका छन् ।
स्थानीय फूलले बजार पाउन थालेपछि पुष्प व्यवसायीमा व्यावसायिक खेतीप्रतिको उत्साह बढेको छ। स्वदेशी उत्पादनको प्रवर्द्धन, बजारको सुनिश्चितता र आयातित फूलमा निर्भरता घटाउन सके स्थानीय पुष्प व्यवसायलाई थप विस्तार गर्न सकिने किसानको अपेक्षा छ ।
