भोजपुरको पाँचधारेमा स्तूपा निर्माण, पर्यटन विकासमा टेवा पुग्ने स्थानीयकाे अपेक्षा

भोजपुर,२३ फागुन । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा स्तूपा निर्माण गरिएको छ। पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले स्तूपा निर्माण थालिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त २७ लाख रुपैयाँको लागतमा स्तूपा निर्माण भइरहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए।

काठमाडौंमा रहेको बौद्ध स्तूपाको जस्तै आकारमा निर्माण हुने यो स्तूपाका लागि दक्ष कालीगढहरू खोलुखुम्बुबाट ल्याइएको छ। पर्यटकीय क्षेत्रको विकाससँगै धार्मिक सहिष्णुता कायम गर्ने उद्देश्यले बौद्ध धर्म मान्ने समुदायलाई लक्षित गरेर स्तूपा निर्माण गरिएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए।

“धार्मिकसँगै पर्यटकीय क्षेत्रको विकासका लागि स्तूपा निर्माण गरिरहेका छौं,” उनले भने, “पाँचधारे पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको स्थान हो। यसले यहाँको पर्यटन विकासमा टेवा पुग्छ भन्ने हाम्रो लक्ष्य हो।” स्तूपा निर्माणपश्चात् पदमार्ग निर्माण, घेरबारा र वृक्षरोपण गरिने उनको भनाइ छ।

पाँचधारेमा ‘पाँच धाम’ निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए। सबै समुदायको अपनत्व हुने गरी यहाँ संरचना निर्माण भइरहेका छन्। किरात समुदायलाई लक्षित गरेर पाँचधारेमा नै करिब ८० लाख रुपैयाँको लागतमा किरात सांस्कृतिक भवन निर्माण भइरहेको छ। अब हिन्दू समुदायलाई लक्षित गरेर पशुपति मन्दिर निर्माण गर्ने लक्ष्य रहेको उनले बताए।

स्थानीय सौगात राईका अनुसार पाँचधारे पोखरी तथा किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षणसँगै पदमार्ग निर्माण भएपछि आन्तरिक पर्यटकको आगमन बढेको छ। टेम्केमैयुङ गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको योजनाबद्ध विकासमा जोड दिइएको गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *