अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पोखराबाट तीनदिने साहसिक पदयात्रा सुरु
गण्डकी,२३ फागुन । ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले आजदेखि तीनदिने साहसिक पदयात्रा सुरु गरेको छ।
गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको सहयोगमा पोखराबाट ‘उचाइहरू जित्दै सीमाहरू तोड्दै’ भन्ने नाराका साथ पदयात्रा सुरु भएको हो। पदयात्रा घान्द्रुक, टाडापानी, दोबाटे हुँदै मुल्डे भ्युप्वाइन्टसम्म सञ्चालन हुने मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीले जानकारी दिइन्।
पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भ पारेर पदयात्रा कार्यक्रम आयोजना गरिएको बताउँदै उनले २८ सदस्यीय प्रवर्द्धनात्मक टोलीले पदयात्रा पर्यटनका सम्भावना तथा चुनौतीलाई स्थलगत रूपमा अध्ययन एवं अवलोकन गर्ने बताइन्। “पोखरा महानगरपालिका कार्यालयले घोषणा गरेअनुसार पोखरामा २० लाख पर्यटक ल्याउने लक्ष्यलाई समर्थन गर्दै यो अभियानले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन सहयोग गर्नेछ,” उनले भनिन्।
टोलीलाई पोखराबाट गण्डकी प्रदेशसभा सदस्य देवका पहारी, गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङ, पर्यटनमन्त्रीका स्वकीय सचिव जीवन उच्चै ठकुरी, पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपिबहादुर भट्टराई, पोखरा पर्यटन परिषद् सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिलगायतले विदाई गरेका थिए।