कालीगण्डकी करिडोर: बादरजुङ र काभ्रेभिरको यात्रा अब सहज

म्याग्दी, २६ फागुन । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको बादरजुङ, घोप्टे र काभ्रेभिरको यात्रा अब सहज भएको छ।

दुई वर्षअघि सम्म यो क्षेत्रमा यात्रा गर्दा त्रसित हुने चालकहरू अहिले ढुक्कका साथ गाडी चलाउन सक्छन्। काभ्रेभिरदेखि घाँसासम्मको दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएपछि यात्रा सहज भएको हो।

साँघुरो सडकका कारण दुर्घटनाको जोखिम बढेको थियो। यो सडक भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पर्दछ। सडक विस्तारका क्रममा धेरै ठाउँमा विस्फोटक पदार्थ प्रयोग गरेर पहाड फोडिएको छ। काभ्रेभिर क्षेत्रमा ‘रक एंकरिङ/रक नेलिङ’ प्रविधिको प्रयोग गरेर सडक फराकिलो बनाइएको छ। सडकमुनिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाएर पक्की पर्खाल निर्माण गरिएको छ।

यसअघि काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्रको सडक पार गर्न कम्तीमा ३० मिनेट लाग्ने गर्दथ्यो। अहिले ५ मिनेटमा पार गर्न सकिन्छ। विसं २०६३ मा नेपाली सेनाले मार्ग खोलेको यो ठाउँमा सवारीसाधन खस्ने, गुडिरहेको सवारीसाधनमा भिरबाट ढुङ्गा खस्ने जस्ता समस्या थिए।
हाल तातोपानी–घाँसा खण्डको १० किलोमिटर पाँच सय मिटर दूरीको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। पहिरोको जोखिम रहेको तीन किलोमिटर बाहेकका ठाउँमा सडकलाई ११ मिटर फराकिलो बनाउने काम सकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *