नुवाकोट आयुर्वेद चिकित्सालयमा अस्पताल सेवा सुरु
काठमाडाैं, २६ फागुन । नुवाकोटको विदुर नगरपालिका-५ पिपलटारमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले २५ शैयाको अस्पताल सेवा सुरु गरेको छ।
स्थापनाको करिब ३ दशकसम्म बहिरङ्ग (ओपिडी) सेवा दिँदै आएको चिकित्सालयले बागमती प्रदेश सरकारको सहयोगमा आइतबारदेखि अन्तरङ्ग (अस्पताल) सेवा सुरु गरेको हो। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले अस्पताल सेवाको शुभारम्भ गरेका हुन्।
मुख्यमन्त्री तामाङले आयुर्वेदिक सेवालाई लक्षित वर्गसम्म पुर्याउन प्रचारप्रसारमा जोड दिन आग्रह गरे। बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले चिकित्सालयलाई आवश्यक आयुर्वेद औषधिको उत्पादनमा संलग्न हुने कार्यक्रम सञ्चालनमा ल्याउन सुझाव दिए।
अब बिरामीलाई भर्ना गरेर उपचार दिन पाउने भएसँगै रसुवा र नुवाकोटका सेवाग्राहीलाई अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने कार्यालय प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले जानकारी दिए।
चिकित्सालयबाट विशेषज्ञ चिकित्सकसहित विषयगत प्राविधिकमार्फत बिरामी परीक्षण, पञ्चकर्म/पूर्वकर्म थेरापी, योग, प्राणायम, जीवनशैली व्यवस्थापन, अकुपञ्चर, प्याथोलोजी ल्याब, निःशुल्क र सशुल्क फार्मेसीलगायतको आयुर्वेद उपचार सेवा प्रवाह हुनेछ।
बागमती प्रदेश सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवर्द्धन, सुत्केरीलाई दुग्धवर्धक औषधि वितरण, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममार्फत उच्च रक्तचाप, मधुमेह, मुटु, श्वासप्रश्वासजन्य रोगको परीक्षण, मानसिक रोग निराकरणसम्बन्धी परामर्श जस्ता सेवाहरू पनि उपलब्ध गराउँदै आएको छ।
कोभिड-१९ को महामारीको समयमा आयुर्वेद औषधालयको सेवा प्रवाह प्रभावकारी भएपछि बिरामीको चाप वृद्धि भएको छ।
