किरणको शतकमा सुदूरपश्चिमको सहज जित
काठमाडाैं, २६ फागुन । किरण ठगुन्नाको शतकको मद्दतले सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ।
दाङको लमही क्रिकेट रङ्गशालामा भएको खेलमा गण्डकीले दिएको २२१ रनको लक्ष्य सुदूरपश्चिमले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
किरण ठगुन्नाले १०१ बलमा ९ चौका र ६ छक्का प्रहार गर्दै अविजित १२१ रन बनाए। कप्तान नारायण जोशीले अविजित ३८ रनको योगदान दिए। बलिङतर्फ गण्डकीका विपिन खत्री, अमृत गुरुङ, कमल परियार र अर्जुन कुमालले १/१ विकेट लिए।
पहिला ब्याटिङ गरेको गण्डकीले ८ विकेटको क्षतिमा २२० रन बनाएको थियो। गण्डकीका लागि अर्जुन कुमालले ५७ रन र दिपक डुम्रेले ६० रनको योगदान दिए। बलिङतर्फ सुदूरपश्चिमका शेर मल्लले ३ विकेट लिए।