प्रधानमन्त्री कप

आर्मीको विजयी सुरुआत

काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई १३४ रनले हराएर विजयी सुरुवात गरेको छ । बागमतीको यो लगातार दोस्रो हार हो ।

भैरवहाको सिद्धार्थ क्रिकेट रङगशालामा आर्मीले टस जितेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा आठ विकेट गुमाउँदै २६२ रन बनाएको थियो । बागमती २७ ओभरमा १२८ रनमा अलआउट भयो ।

आर्मीका प्रारम्भिक ब्याट्सम्यान सन्तोष कार्कीले ९८ बलको सामना गर्दै दस चौका र एक छक्का सहित सर्वाधिक ७६ रन बनाए । उहाँले तृतराज दाससँग मिलेर पहिलो विकेटको लागि ९६ रनको साझेदारी गरेका थिए । तृतराज ३६ रनमा आउट भए । कप्तान विनोद भण्डारी ४७ रनमा अविजित रहे ।

बागमतीकालागि रिजन ढकाल, प्रतिश जिसी र इशान पाण्डेले दुई–दुई तथा सोनु देवकोटाले एक विकेट लिए । बागमतीका लागि विवेक मगरले सर्वाधिक ५१ रन बनाएका थिए । बागमतीको पालमा आर्मीका स्पीनर साहब आमले चार विकेट र आकाश चन्दले तीन विकेट लिए ।