तनहुँकाे शुक्लागण्डकीमा बन्याे दुई करोडकाे विद्यालय भवन
तनहुँ, २७ फागुन । शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयको आठकोठे भवन निर्माण सम्पन्न भएको छ। नेपाल हिल्फे वाइलग्रिस जर्मनको आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो।
उक्त संस्थाको दुई करोड रुपैयाँ लागतमा भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलमोहन घिमिरेले जानकारी दिनुभयो। नयाँ भवन निर्माणसँगै विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक राजेश्वर घिमिरेले जानकारी दिनुभयो।
उक्त भवनको सोमबार शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित र उक्त संस्थाका अध्यक्ष मानफ्रेड लिन्डरले संयुक्त रुपमा उद्घाटन गर्नुभयो। सो अवसरमा नगरप्रमुख पण्डितले विद्यालयको भवन निर्माणमा सहयोग गरेकामा धन्यवाद ज्ञापन गर्नुभयो।
उक्त संस्थाले विगत ३१ वर्षदेखि नेपालको शिक्षा, स्वास्थ्य, सरसफाइलगायतका क्षेत्रमा काम गरिरहेको छ।