जोमसोम बजार जोगाउन धमाधम तटबन्ध गरिँदै

मुस्ताङ, २८ फागुन । बर्सेनि कालीगण्डकी नदीले जोमसोम बजार कटान गरेपछि तटबन्ध निर्माण थालिएको छ।

सङ्घीय सरकार अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागको अगुवाइमा ‘जोमसोम बजार संरक्षण योजना’ अन्तर्गत नदी नियन्त्रण थालिएको हो।

यो योजना अन्तर्गत घरपझोङ गाउँपालिका–४ काठेपुलबाट जिल्ला प्रशासन कार्यालय र नेपाली सेनाको क्याम्प रहेको स्थानमा आरसीसीसहितको ‘ग्यावियन वाल’, ‘पल्मकङ्क्रिट वाल’, तटबन्धको बेस धमाधम निर्माण भइरहेको छ।

संरक्षण योजनाका निर्माण कम्पनीका मुख्य प्रतिनिधि शिवकुमार श्रेष्ठका अनुसार हालसम्म ५५ प्रतिशत भौतिक र ४२ प्रतिशत वित्तीय प्रगति भएको छ।

कालीगण्डकी नदी कटान र बर्सेनि वृद्धि हुने नदी उकासका कारण मुस्ताङको छुसाङबाट थासाङ गाउँपालिकाको लेतेसम्मको तटीय क्षेत्रका १३ गाउँ नदी कटानको जोखिममा छन्। ती स्थानको संरक्षणमा सङ्घीय तथा प्रदेश सरकारले विभिन्न चरणमा नदी नियन्त्रणको प्रयास जारी राखेको छ।