दैलेखमा विपन्न परिवारका लागि एकीकृत बस्ती निर्माण सुरु

दैलेख, १ चैत । दैलेख जिल्लामा अति विपन्न परिवारलाई लक्षित गरी रु ५० लाखको लागतमा एकीकृत बस्ती निर्माणको थालनी गरिएको छ।

गुराँस गाउँपालिका–८ स्थित गैरिखेतमा रहेका दलित तथा विपन्न परिवारका लागि उक्त बस्ती निर्माण कार्य सुरु गरिएको हो। गाउँपालिकाको सक्रियतामा ह्याबिट्याट फर ह्युमानिटी नेपाल नामक संस्थाले ती विपन्न दलित परिवारलाई घर बनाइदिने भएपछि, दशकौंदेखि कष्टकर जीवन बिताइरहेका उनीहरूले अब सुरक्षित घरमा बस्न पाउने आशा पलाएको छ।

एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत पहिलो चरणमा १० घर निर्माणको थालनी गरिएको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसीले जानकारी दिनुभयो। विपन्न नागरिकको जीवनस्तर सुधार गर्नु स्थानीय सरकारको दायित्व भएकोले एकीकृत बस्ती निर्माणको अवधारणा ल्याइएको उहाँले बताउनुभयो।

ह्याबिट्याट फर ह्युमानिटी नेपालले अन्य स्थानमा पनि विपन्न समुदायका लागि एकीकृत बस्ती निर्माण गर्दै आएको छ। गैरिखेतमा करिब ४० दलित तथा विपन्न परिवारको बसोबास रहेको गुराँस–८ का वडा अध्यक्ष हिमबहादुर ओलीले बताउनुभयो। उहाँका अनुसार १० घरका लागि रु ५० लाखको लागत अनुमान गरिएको छ, जसमा खानेपानी, शौचालय र पहुँच मार्ग निर्माणमा स्थानीय सरकारले सहयोग गर्नेछ।
सामाजिक परिचालक राम बहादुर थापाले आगामी जेठ मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो। संस्थाले दुई कोठाको भूकम्प प्रतिरोधी पक्की घर निर्माण गरिदिनेछ। वर्षौंदेखि जीर्ण घरमा बस्न बाध्य उनीहरू नयाँ घर पाउने खबरले उत्साहित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *