सर्लाहीको हरिवनमा भएकाे महायज्ञबाट २ करोड ७६ लाख सङ्कलन

सर्लाही, १ चैत । सर्लाहीको हरिवन नगरपालिकामा आयोजित महायज्ञमा रु २ करोड ७६ लाख सङ्कलन भएको छ।

हरिवन नगरपालिका–९ दनुवारीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले गत फागुन २२ गतेदेखि फागुन २९ गतेसम्म महायज्ञ आयोजना गरिएको हो। महायज्ञ मूल आयोजक समितिका संयोजक माधव थापाका अनुसार बिहीबार रु ४२ लाख सहयोग सङ्कलन भएको थियो।

रकम अभावका कारण दनुवारीमा भवन अधुरै छ। भवन निर्माण सम्पन्न गर्न रु ११ करोड आवश्यक पर्ने संयोजक थापा बताउनुहुन्छ। रकम जुटाउन आश्रमले यसअघि हरिवन–११ मा महायज्ञ आयोजना गरेको थियो। उक्त महायज्ञमा हरिवन नगरपालिकाले रु ५६ लाख सहयोग गरेको थियो।

जिल्लाका अन्य पालिका, वडा कार्यालय, सामाजिक सङ्घसंस्था तथा व्यक्तिगत रूपमा समेत सहयोग प्राप्त भएको संयोजक थापाले बताउनुभयो। सर्लाहीमा आफ्नै भवन नहुँदा हरिवन–१ कैलाशपुरीमा ज्येष्ठ नागरिक भवनमा आश्रम सञ्चालन भइरहेको छ। उक्त आश्रममा हाल ६० जनालाई आश्रय दिइएको छ।