एसईई परीक्षा आजबाट सुरु, ५ लाख १४ हजार विद्यार्थी सहभागी हुँदै
काठमाडौं, ७ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकसाथ सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजेदेखि देशभरका २ हजार ७९ परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन हुनेछ।
आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। संस्कृत वेदविद्याश्रमका विद्यार्थीहरूका लागि अनिवार्य संस्कृत रचना र मदरसाका विद्यार्थीहरूका लागि अनिवार्य अरेबिक भाषाको परीक्षा पनि आजै हुनेछ।
यस वर्षको एसईईमा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुँदैछन्। यो संख्या गत वर्षको तुलनामा उल्लेखनीय रूपमा बढी हो। गत वर्ष ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीले एसईई दिएका थिए। यस वर्ष विद्यार्थी संख्या ४९ हजार २८६ ले बढेको छ।
परीक्षालाई व्यवस्थित बनाउन १५० जनासम्म परीक्षार्थी भएका केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र प्रति २० जना विद्यार्थीका लागि एकजना निरीक्षक खटाइनेछ। परीक्षार्थी संख्या ७५ भन्दा कम भएका केन्द्रमा सहायक केन्द्राध्यक्षको व्यवस्था गरिएको छैन।
चैत ७ गतेदेखि सुरु भएको एसईई परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।