सगरमाथामा डोरी टाँग्न दक्ष आरोही परिचालन, आरोहणको तयारी तीब्र

काठमाडौं,७ चैत । सगरमाथाको चुचुरोसम्म पुग्न बाटो बनाउन र डोरी टाँग्नका लागि अनुभवी आरोहीको टोली खटिएको छ। पर्वतारोहण सञ्चालक संघ नेपालले आठ जनाको दक्ष टोलीलाई सगरमाथाको बाटो खुलाउन पठाएको हो।

अशोक लामाको नेतृत्वमा रहेको टोलीले यो सिजनमा सगरमाथा, ल्होत्से र आमादब्लम हिमालमा बाटो बनाउने जिम्मा पाएको छ। संघले एट्के एक्सपिडिसन कम्पनीलाई यसको व्यवस्थापनको जिम्मेवारी दिएको छ। टोलीमा कर्माग्याल्जेन शेर्पा, पेमनुरबु शेर्पा, मिङदावा शेर्पा, टासी शेर्पा, पासारिन्जी शेर्पा, पास्तान्जेन शेर्पा र टासीनर्बु शेर्पा रहेका छन्।

संघले बाटो बनाउन आवश्यक सामग्रीहरू टोलीलाई हस्तान्तरण गरेको छ। महासचिव ऋषिराम भण्डारीले वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो बनाउन दक्ष आरोहीहरू गएसँगै चहलपहल बढेको बताए। ठूला आरोहण कम्पनीहरूले आधार शिविरमा व्यवस्थापनको काम सुरु गरिसकेका छन्।

एट्के कम्पनीका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने सामग्रीहरू टोलीलाई दिएको जानकारी दिए। उनले आरोहणलाई सुरक्षित बनाउन कम्पनीले सक्दो प्रयास गर्ने बताए। मौसमले साथ दिएमा यो वर्ष ६०० भन्दा बढी आरोही सगरमाथा चढ्न आउने अनुमान गरिएको छ।

पर्यटन विभागसँगको सम्झौता अनुसार, पर्वतारोहण सञ्चालक संघले टेन्डरमार्फत कम्पनी छनोट गरेर दक्ष शेर्पाहरूलाई सगरमाथाको बाटो खुलाउन खटाउने गरेको छ। यो टोलीले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने र डोरी टाँग्ने काम गर्छ। सन् २०२५ को लागि एट्के एक्सिपिडिसन कम्पनीले यो जिम्मेवारी पाएको छ।

आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले बनाउँछ, जसका लागि १० जनाको टोली खटिएको छ। खुम्बु आइसफलमा बाटो बनाउने आरोहीलाई ‘आइसफल डाक्टर’ भनिन्छ।

एसपिसिसीका अध्यक्ष लामाकाजी शेर्पाले वसन्त ऋतु आरोहणका लागि उपयुक्त समय भएकाले अनुभवी टोलीलाई आवश्यक सामग्रीसहित आधार शिविरमाथि बाटो बनाउन खटाइएको बताए। खुम्बु आइसफल क्षेत्रमा हिउँको ढिस्को र पहिरोको खतरा हुन्छ। टोलीले दोस्रो आधार शिविरसम्म जाने बाटो बनाउनुपर्ने हुन्छ, जसका लागि डोरी टाँग्ने, भर्‍याङ राख्ने र हिउँको संरचनालाई स्थिर बनाउने काम गर्छन्।

दोस्रो आधार शिविरसम्मको बाटो बनाउन करिब २० दिन लाग्ने अनुमान छ। पर्यटन विभागका अनुसार सन् २०२४ को वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ४१४ जनाले अनुमति लिएका थिए। यो वर्ष पनि धेरै आरोही आउने अनुमान गरिएको छ।

पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि आरोहीहरू सम्पर्कमा आइरहेका छन्। विभागले सम्पर्क अधिकृत खटाउने र आधार शिविरमा सम्पर्क कार्यालय व्यवस्थापन गर्ने काम गरिरहेको छ। व्यवसायीहरू यो सिजनमा आरोही बढ्ने आशामा छन्।

सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले सगरमाथा आरोहणका लागि धेरै आरोहीहरू आइरहेको बताए। उनले यो सिजनमा अहिलेसम्मकै धेरै आरोही आउने अनुमान गरिएको जानकारी दिए। सेभेन समिट कम्पनीमार्फत यो पटक १०० भन्दा बढी आरोही सगरमाथा आरोहणमा जाँदैछन्।

सतोरी एडभेन्चर्स प्रालिका प्रबन्ध निर्देशक ऋषिराम भण्डारीले सगरमाथाको चुचुरोसम्म बाटो बनाउने काम सुरु भएसँगै आरोहणको चहलपहल बढेको बताए। उनले एक्सपिडिसन कम्पनीहरूले आरोहण व्यवस्थापनको तयारीलाई तीब्रता दिएको जानकारी दिए।