हेटौँडा सिमेन्ट उद्योगले चैतको तेस्रो सातादेखि पुनः उत्पादन थाल्ने
हेटौँडा, १२ चैत । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि पुनः उत्पादन सुरु गर्ने भएको छ।
उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, आवश्यक कच्चा पदार्थको सुनिश्चितता भएको र कर्मचारीहरू काममा फर्कन सहमत भएपछि उत्पादन सुरु गर्ने तयारी भइरहेको उद्योगका निमित्त महाप्रबन्धक इन्जिनियर नविनकुमार कर्णले जानकारी दिए।
“उद्योगका पुराना मेसिन मर्मत गर्न केही समय लाग्यो,” निमित्त महाप्रबन्धक कर्णले भने, “स्थापनाकालमा जडान गरिएको मेसिन भएकाले यसलाई विस्थापित गरेर नयाँ मेसिन जडान गर्नुपर्ने देखिन्छ। तर, आर्थिक समस्याका कारण तत्काल त्यो सम्भव नभएपछि मर्मत गरेका छौँ।”
उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ केही मौज्दात रहेको र केही आउने क्रममा रहेको उनले बताए। “अहिले हामीसँग करिब एक सय टन कोइला छ। अरु कोइला भोलिदेखि आउने भएको छ,” कर्णले भने, “कोइलाको पुरानो भुक्तानी हुन नसकेकाले कम्पनीसँग कुराकानी गरी उद्योग सञ्चालन गर्न कोइला पठाउन तयार भएका छन्।”
उद्योग सञ्चालनका लागि विद्युत् समस्या पनि समाधान हुने उनले बताए। “उद्योग चलाउन नियमित विद्युत् चाहिन्छ। त्यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग कुराकानी भएको छ,” उनले भने, “प्राधिकरणले नियमित विद्युत् दिने प्रतिबद्धता जनाएको छ।”
गत असोज १५ गतेदेखि उद्योगको विभिन्न उपकरण मर्मत गर्नुपर्ने भएकाले सिमेन्ट उत्पादन बन्द गरिएको थियो। उद्योग बन्द हुँदा कर्मचारीले विगत तीन महिनादेखि तलब भत्ता पाउन सकेका छैनन्। विसं २०३३ सालमा स्थापना भएको यो उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो।