आज उपत्यकाका नेवा: समुदायले पाहाँचह्रे मनाइँदै

काठमाडौँ, १५ चैत । काठमडौँ उपत्यकाका नेवा: समुदायले दसैँपछिको ठूलो पर्वका रूपमा मनाउने पाहाँचह्रे पर्व आज उपत्यकाका नेवा: समुदायले मनाउँदै छन् ।

यसलाई पासाचह्रे पनि भन्दछन् । नेवा: भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी । चह्रे चन्द्रमासको भित्तेपात्रोअनुसार चौधौँ दिनलाई भनिन्छ । यस चाडलाई काठमाडौँका नेवा: सम्प्रदायले दसैँ जस्तै ठूलाे चाडकारूपमा मनाउँदै आएकन छन् ।

यस दिन बिहानै भद्रकाली, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी आदि पीठका देवी, भैरव, गणेश आदि देवताको दर्शन तथा पूजा गर्छन् । मानिसहरूले दिउँसोदेखि बेलुकीसम्म आआफ्ना घरमा परिवारसँग बसी नेवार: परम्परा अनुसारकाे भाेज बनाएर खाने गरिन्छ ।

पाँहाचह्रेका दिन मुख्यतया विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाँहाचह्रे पर्व मनाउने चलन छ । यस अवसरमा कङ्केश्वरीदेवीलगायत विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा छ । पाहाँचह्रे पर्वको दोस्रो दिन अर्थात् घोडेजात्राका दिन दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाइन्छ । चौरासी व्यञ्जनसहितको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास छ ।

पाहाँचह्रेको अन्तिम दिन आइतबार दिउँसो असनमा देवीको ‘द्य ल्वाकेगु’ जात्रा गरिन्छ । भद्रकाली (लुँमरी अजिमा) र कङ्केश्वरी (चामुण्डार कङ्ग अजिमा)को खट बोक्नेहरूले चिराग साट्ने गर्छन् । यसलाई स्थानीय भाषामा ‘द्य ल्वाकेगु’ भनिन्छ ।

पहिले असनमा सात खट जात्रा गरी ‘द्य ल्वाकेगु’ जात्रा हुने गरे पनि पछिल्लो समय दुई देवीको मात्र जात्रा हुने गरेको छ ।