काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था कडा, आज दुई स्थानमा फरक प्रदर्शन
काठमाडौँ, १५ चैत । काठमाडौँ उपत्यकामा आज दुई फरक-फरक स्थानमा प्रदर्शन हुने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।
नेपाल प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाएको जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यले काठमाडौँका विभिन्न स्थानमा हुने जुलुस र सभास्थलको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको जानकारी दिनुभयो।
उहाँका अनुसार उपत्यकाका मुख्य चोकहरूमा प्रहरीको बाक्लो उपस्थिति छ र कुनै पनि अप्रिय घटना हुन नदिन आवश्यक संख्यामा प्रहरी तयारी अवस्थामा राखिएको छ।
आज समाजवादी मोर्चा नेपालले गणतन्त्रको पक्षमा प्रदर्शनीमार्गमा खबरदारी सभा गर्दैछ भने राजतन्त्र पक्षधरहरूले नयाँ बानेश्वर तीनकुनेमा प्रदर्शन गर्दैछन्। दुवै समूहले प्रदर्शनअघि उपत्यकाका विभिन्न स्थानबाट र्याली निकाल्ने कार्यक्रम छ।
प्रदर्शनका कारण दैनिक जीवनमा असर पर्ने देखेर सर्वसाधारण सचेत भएर आफ्नो गन्तव्यतर्फ लागिरहेका छन्।