काठमाडौंको तीनकुने प्रदर्शनमा प्रहरीकाे बन्दुक खोस्नेसहित १०५ जना पक्राउ

काठमाडौं, १६ चैत । राजावादीहरुले गरेको काठमाडौंको तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न १०५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार पक्राउ पर्नेहरूमा प्रहरीको बन्दुक खोस्ने व्यक्ति पनि रहेका छन् ।

प्रहरीले अमानवीय, अमर्यादित र गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूलाई पनि पक्राउ गरिएको जनाएको छ ।

यसअघि, राप्रपा नेता रवीन्द्र मिश्र, धवलशम्शेर राणा र स्वागत नेपाल लगायतका राजावादी अभियन्ताहरूलाई शुक्रबार राति नै पक्राउ गरिएको थियो ।

राजतन्त्र पुनर्स्थापना आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने घरमै नजरबन्द गरिएको छ । आन्दोलन भड्काउने मुख्य व्यक्ति भनिएका दुर्गा प्रसाईं भने हाल फरार रहेकाे प्रहरीले जनाएकाे छ ।