लगनटोलमा मलःजा वितरण, उपप्रमुख डंगोलद्वारा बालबालिकालाई मलःजा खुवाइयो

काठमाडौं, १७ चैत्र । काठमाडौं महानगरपालिका वडा नम्बर २१, लगनटोलमा हिजो मलःजा वितरण कार्यक्रम सम्पन्न भएको छ।
नेवार समुदायको महत्वपूर्ण पर्व पाहाँचह्रेको अवसरमा दुई वर्षसम्मका बालबालिकालाई मलःजा खुवाइएको हो।
स्थानीय नेवार समुदायमा मलःजा खुवाउनाले बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास रहेको छ। यसै परम्परालाई निरन्तरता दिँदै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बालबालिकाहरूलाई मलःजा वितरण गर्नुभयो।
पाहाँचह्रे पर्व हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार समुदायले मनाउने गर्छन्। यो पर्व स्थानीय नेवार समुदायको दशैँपछिको ठूलो पर्वकारूपमा मानिन्छ। यस पर्वको पहिलो दिन विभिन्न शक्तिपीठमा पूजा गरी बेलुकी जमिनमुनि रहेका लुकु महाद्यः (महादेव) को पूजा गर्ने परम्परा छ।
पाहाँचह्रे पर्वको दोस्रो दिन अर्थात् घोडेजात्राका दिन दुई वर्षसम्मका बालबालिकालाई ८४ व्यञ्जनसहितको मलःजा खुवाइने गरिन्छ। संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिर र जात्राको सहरको रूपमा परिचित छ।