काठमाडौंको वायु प्रदूषण खतरनाक तहमा, स्वास्थ्य सावधानी अपनाउन आह्वान

काठमाडौं, २४ चैत्र । काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर लगातार एक सातादेखि ‘अति अस्वस्थकर’ अवस्थामा रहेको छ।

आइतबार बिहानको मापन अनुसार, विश्वका प्रमुख सहरहरूमध्ये काठमाडौं वायु प्रदूषणका हिसाबले दोस्रो स्थानमा पुगेको हाे।

अन्तर्राष्ट्रिय वायु गुणस्तर अनुगमन संस्था आइक्यू एअरका अनुसार, हाल काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) २११ रहेको छ। यो सूचकांकलाई स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ। विश्वव्यापी सूचीमा भारतको दिल्ली २९० एक्यूआईसहित पहिलो र पाकिस्तानको लाहोर १९९ एक्यूआईसहित तेस्रो स्थानमा छन्।

विज्ञहरूका अनुसार, लामो समयसम्म वर्षा नहुनु, नेपालका विभिन्न जङ्गलहरूमा लागेको डढेलो र त्यसबाट उत्पन्न धुवाँ तथा धुलोका कणहरू उपत्यकाको वायुमण्डलमा थुप्रिँदा प्रदूषणको स्तर उच्च भएको हो।

विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्ड अनुसार, ० देखि ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मानिन्छ। काठमाडौंको वर्तमान अवस्था तोकिएको मापदण्डभन्दा धेरै गुणा बढी हो।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाको वायुको अवस्था खतरनाक रहेको भन्दै नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र यदि निस्कनै पर्ने अवस्था आएमा गुणस्तरीय मास्कको अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ।