आईपीयुमा असंलग्न आन्दोलनलाई प्रभावकारी बनाउनका लागि बहस भएको छ : सभामुख घिमिरे

काठमाडौं, २९ चैत्र । सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेतृत्वमा अन्तर–संसदीय संघ (आईपीयु)को १५०औं सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किनुभएको छ ।

उज्वेकिस्तानको ताश्कन्दमा आयोजित अन्तर–व्यवस्थापिका संघको सभामा सहभागी सभामुख घिमिरे नेतृत्वको टोली बिहीबार स्वदेश फर्कनुभएकाे हो ।

त्रिभुवन विमानस्थमा पत्रकार सम्मेलन गर्दै सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउने र संसदीय कुटनीतिका माध्यमबाट संसारमा उत्पन्न भएका चूनौति सामना गर्न सकिन्छ भन्ने विषयमा सभा केन्द्रीत रहेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘व्यवस्थापकीय कामहरुलाई कसरी लान सकिन्छ, व्यवस्थापकीय कामहरुका अनुभवहरु अतिरिक्त समस्याहरु के के हुन् ? तिनिहरुलाई कसरी उच्चस्तरबाट व्यवस्थापन गर्न सकिन्छ भन्ने छलफलहरु भए । कतिपय समजदारी, कतिपय निस्कर्ष, कतिपय योजनाहरु पारित भए । मूलतः नीतिगत संसदलाई कसरी प्रभावकारी पार्न सकिन्छ भनेर १५०औँ महासभा केन्द्रित रहयो ।’

सभामुख घिमिरेले नेपालको सबैभन्दा गम्भीर चुनौतीका रूपमा जलवायु परिवर्तन रहेको बिषय आफूले सभामा उठान गरेको बताउनुभयाे। असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनमा असंलग्न आन्दोलनलाई प्रभावकारी बनाउनका लागि बहस भएको उहाँले बताउनुभयाे ।

सभामुख घिमिरेले तुलनात्मक रुपमा सभा सफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सामाजिक क्षेत्रमा, खासगरी संसद्को भूमिका र समाजलाई न्याय दिने सवालमा सामाजिक विकास र न्यायमा संसद्को पहल भन्ने मूल विषयमा छलफल भयो, छलफलमाथि सहभागी १८२ जनाका अतिरिक्त नयाँ आइपियुका सदस्यको पनि प्रतिनिधित्व रहेको थियो, त्यसमा समसामयिक राजनीति र त्यसले पारेको प्रभाव, समाजमा अहिले पनि भइरहेका असमानताका विषयबारे विचार–विमर्श भयो ।”

सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डलमा सांसदहरु डा. अन्जान शाक्य, श्यामकुमार घिमिरे, सूर्यमान दोङ तामाङ र सोविता गौतम, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभाका सचिव हर्कराज राई, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र सङ्घीय संसद् सचिवालयका उपसचिव राजु रिमाल हुनुहुन्थ्यो ।