सूर्योदय नगरपालिकाको अनुदान: विदेशबाट फर्केका युवालाई गाउँमै उद्यममा प्रोत्साहन

इलाम, २९ चैत । सूर्योदय नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्केका तथा स्थानीय स्तरमै उद्यम गर्न चाहने युवाहरूलाई अनुदान तथा सहुलियतपूर्ण ऋण प्रदान गरी स्वरोजगार बनाउन प्रोत्साहन गरिरहेको छ। यस कार्यक्रमले विदेश जाने सोच बदलेर गाउँमै आत्मनिर्भर बन्न धेरैलाई प्रेरित गरेको छ।
१४ वर्ष कतारमा ‘एसी टेक्निसियन’को रूपमा काम गरेर फर्किनुभएका सूर्योदय नगरपालिका–४, श्रीअन्तुका डिल्लीराम मुखिया यसका एक सफल उदाहरण हुनुहुन्छ। विदेशको कमाइ घरखर्चमै सकिएपछि लगानी अभावमा अन्योलमा रहनुभएका मुखियाले गत वर्ष नगरपालिकाको ‘रेमी’ कार्यक्रम अन्तर्गत उद्यमशीलता तालिमसँगै रु ४० हजार अनुदान प्राप्त गर्नुभयो। सोही अनुदानमा थप लगानी गरी डेढ लाखमा व्यवस्थित खोर बनाएर उहाँले स्थानीय जातका कुखुरा पालन सुरु गर्नुभएको छ।
“नगरपालिकाको सहयोगले व्यवसाय थालेँ, अब विदेश जान्नँ,” ६०० चल्लाबाट व्यवसाय सुरु गर्नुभएका उहाँले भन्नुभयो। उहाँजस्तै सोही वडाका इन्द्रजित मुखिया, सपना सुवेदी, राजेन्द्र गिरी र विराज तामाङले पनि नगरपालिकाको सहयोगमा कुखुरा पालन गरिरहनुभएको छ।
साढे तीन वर्ष साउदी अरबको कठिन अनुभव सँगालेर फर्किनुभएकी सपना सुवेदीले पनि नगरपालिकाबाट रु एक लाख अनुदान लिएर बाख्रा, कुखुरा पालन र चियाखेती गरिरहनुभएको छ। “बिना ब्याजमा पैसा पाएपछि गाउँमै केही गर्न सजिलो भएको छ। तीन वर्षमा साँवा मात्र फिर्ता गरे पुग्छ,” उहाँले बताउनुभयो।
नगरप्रमुख रणबहादुर राईका अनुसार, नगरपालिकाले गत वर्षदेखि ‘स्वरोजगार कार्यविधि’ लागू गरी उद्यम गर्न चाहनेहरूलाई यो सुविधा दिएको हो। व्यक्तिगत रूपमा उद्यम गर्नेलाई रु एक लाखसम्म र समूह वा सहकारीमा आबद्ध भई व्यवसाय गर्नेलाई रु पाँच लाखदेखि दश लाखसम्म बिना ब्याज ऋण उपलब्ध गराइने व्यवस्था छ। यो कार्यक्रमले लगानी जुटाउन नसकेर उद्यम गर्न नसकेका युवाहरूलाई ठूलो टेवा पुर्याएको छ र उनीहरूलाई आफ्नै गाउँठाउँमा भविष्य खोज्न मद्दत गरेको छ।