मंगलबजार बालिका हत्या: आफ्नै दाइ पक्राउ, लागुऔषध सेवन गरी हत्या गरेको बयान

काठमाडौँ, २ वैशाख । ललितपुरको मंगलबजारमा ११ वर्षीया बालिका दुर्गा बोहराको हत्या आरोपमा प्रहरीले उनकै १५ वर्षीय दाइलाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार यो जानकारी दिएको हो। मृतककी आमा भगवती बोहराले छोरी चैत ४ गतेदेखि हराएको भनी जिल्ला प्रहरी परिसर ललितपुरमा खोजतलासका लागि निवेदन दिएकी थिइन्। खोजतलासकै क्रममा चैत २९ गते ललितपुर महानगरपालिका-९, खपिन्छेँस्थित पुरानो घरको प्रयोगविहीन पानी ट्याङ्कीमा दुर्गाको सडेगलेको शव फेला परेको थियो। यो घरमा बोहरा परिवार पहिले भाडामा बस्थ्यो र फागुन २५ गते अन्यत्र सरिसकेको थियो।
अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर ललितपुरले गरेको संयुक्त अनुसन्धानका क्रममा सीसीटिभी फुटेजमा चैत ४ गते दाइ र बहिनी सँगै उक्त पुरानो घरतर्फ गएको देखिएपछि दाइमाथि शंका गरिएको थियो।
प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार, सोधपुछका क्रममा पक्राउ परेका किशोरले अपराध स्वीकार गरेका छन्। उनले दिएको बयान अनुसार, कोठा सर्दा छुटेका कपडा लिन पुरानो घर गएका बेला बहिनीसँग सामान्य विवाद हुँदा नाइलनको डोरीले पछाडिबाट घाँटी कसेर हत्या गरेका थिए। उनले घटनाको अघिल्लो दिन (चैत ५ गते) बिहान घटनास्थल गई हेर्दा बहिनीको मृत्यु भएको देखेपछि शवलाई पानी ट्याङ्कीमा हालेर सिमेन्टको ढकनीले छोपिदिएका थिए।
पक्राउ परेका किशोरले घटनाका बेला आफू र बहिनी दुवैले लागुऔषधको ट्याबलेट सेवन गरेको र त्यसैको नशामा घटना भएको बयान दिएका छन्। प्रहरीले उनलाई मंगलबजार क्षेत्रबाट नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाएको जनाएको छ।