कक्षा १२ को परीक्षा तत्कालका लागि सार्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को निर्धारित परीक्षा तत्कालका लागि स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिनुभएको छ ।

उहाँले आज प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. महाश्रम शर्मा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दीपक काफ्लेलाई बोलाएर परीक्षा सार्न निर्देशन दिनुभएको हो ।

यसअघि राष्ट्रिय परीक्षा बोर्डले सबै आवश्यक संयन्त्र परिचालन गरी निर्धारित मिति वैशाख ११ गते (पर्सि) बाटै परीक्षा सञ्चालन गर्ने अडानसहित तयारी गरिरहेको थियो ।

तर, प्रधानमन्त्रीबाटै स्थिति जटिल रहेको भन्दै परीक्षा सार्न निर्देशन आएपछि अब बोर्ड परीक्षा स्थगित गर्ने निष्कर्षमा पुगेको छ ।

स्रोतका अनुसार, प्रधानमन्त्रीको निर्देशन लगत्तै बोर्डले आन्तरिक छलफल सुरु गरेको छ र छिट्टै बैठक बसेर परीक्षा स्थगनको औपचारिक निर्णय लिने तयारी गरेको छ । परीक्षा स्थगन सम्बन्धी आधिकारिक सूचना आजै बोर्डले सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।