कक्षा १२ को परिक्षा सर्याे, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय
काठमाडौं, ९ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि गर्ने भनेकाे कक्षा १२ काे परीक्षा वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।
मंगलबार साँझ बसेको बोर्डको बैठकले शिक्षकहरुकाे आन्दाेलनका कारण पूर्वनिर्धारित मिति सारेर यस्तो निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको थियो । यद्यपि बोर्डले निर्धारित समयमा नै परीक्षा गर्ने अडान राखेपनि अन्तिम समयमा परीक्षा सरेको हो ।
यसअघि शिक्षकहरुले परीक्षामा सामेल नहुने जनाएपछि निजामती कर्मचारीहरुलाई खटाएर परीक्षा सञ्चालन गर्ने अडान बोर्डले लिएकाे थियो । तर कर्मचारी ट्रेड युनियनले पनि शिक्षकका माग पूरा गरेर उनीहरुलाई नै परीक्षामा सामेल गराउनुपर्ने भन्दै विरोध जनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बोर्डलाई परीक्षा सार्न आग्रह गर्नुभएकाे थियाे ।