श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्ने : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, १८ वैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको सामाजिक, आर्थिक र भौतिक विकासमा श्रमिक वर्गको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण नेपाली श्रमिक दिदीबहिनी तथा दाजुभाइप्रति शुभकामना व्यक्त गर्दै उहाँले एक्समा अधिकांश नेपाली श्रमिक अनौपचारिक क्षेत्रमा रहेका, उनीहरुको न्यूनतम तलब, सामाजिक सुरक्षा र सुरक्षित कार्यस्थललगायत अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

“विदेशमा कार्यरत श्रमिकहरूको योगदान अर्थतन्त्रको मेरुदण्ड भए पनि उहाँहरू शोषण र जोखिममा हुनुहुन्छ । बेरोजगारी र युवाशक्ति विदेश पलायन चिन्ताको विषय बनेको छ भने महिला र घरेलु श्रमिकहरू अझै पनि उपेक्षित छन्”, उहाँले लेख्नुभएको छ ।

श्रमिक अधिकारको संरक्षण, श्रम कानुनको कार्यान्वयनका साथै मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गर्न सरकार, रोजगारदाता र ट्रेड युनियनहरूले समन्वयात्मक प्रयास गर्नुपर्ने पूर्वराष्ट्रपति भण्डारीले बताउनुभएको छ ।