नीति तथा कार्यक्रम

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरिने

काठमाडौँ, १९ वैशाख । सरकारले समस्याग्रस्त सहकारी संस्थाका साना बचतकर्ताहरूको बचत रकम फिर्ता गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो ।

नीति तथा कार्यक्रम अनुसार, साना बचतकर्ताहरूको रकम फिर्ता प्रक्रिया सहजीकरण गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण अन्तर्गत एक विशेष कोष स्थापना गरिनेछ ।

यसका साथै, राष्ट्रपति पौडेलले सहकारी ऐन तथा नीतिको पुनरावलोकन गरी नयाँ नीति जारी गरिने पनि बताउनुभयो । सहकारी संस्थाहरूको ऋण असुलीलाई प्रभावकारी बनाउन ‘सहकारी ऋण असुली न्यायाधीकरण’ स्थापना गर्ने तथा सहकारी क्षेत्रको तथ्यांक व्यवस्थापनका लागि एकीकृत विद्युतीय सूचना प्रणाली विकास गर्ने योजना पनि सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।