उपप्रमुख डंगोललाई बधाई दिंदै र विगत निर्णयको प्रभावकारिता र कार्यान्वयन अवस्थाको समीक्षा गर्दै उपप्रमुख सञ्जालको दशौँ बैठक सम्पन्न

काठमाडौं, २२ वैशाख । काठमाडौं उपत्यकाका नगरपालिकाहरूका उपप्रमुख तथा गाउँपालिकाहरूका उपाध्यक्षहरूको साझा मञ्च ‘काठमाडौँ उपत्यका उपप्रमुख/उपाध्यक्ष सञ्जाल’ को १० औं बैठक कीर्तिपुर नगरपालिकाको आयोजनामा आज सम्पन्न भएको छ।

बैठकले सञ्जाल गठन भएयताका निर्णयहरूको प्रभावकारिता र कार्यान्वयन अवस्थाको प्रारम्भिक समीक्षा गर्दै महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले उपप्रमुख/उपाध्यक्षहरूलाई प्राप्त अधिकारको प्रभावकारी कार्यान्वयन, आपसी सहकार्य, समन्वय र साझा कार्यक्रमहरूका सम्बन्धमा विगतका अभ्यासहरूको बृहत् समीक्षा गर्ने निर्णय गरेको छ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्दा साझा विषयहरूमा केन्द्रित रहेर छलफल गर्ने सहमति भएको छ। सञ्जालको आगामी ११ औं बैठक काठमाडौं महानगरपालिकाले आयोजना गर्नेछ।

२०७९ फागुन ३० गते काठमाडौं महानगरपालिकाको अग्रसरतामा सुरु भएको यो सञ्जालको मुख्य उद्देश्य कानुनले उपप्रमुख/उपाध्यक्षलाई दिएका अधिकारबारे समान बुझाइ निर्माण गर्ने, कार्य प्रणालीमा एकरूपता ल्याउने, साझा सवालमा सहकार्य गर्ने, चुनौतीहरूको साझा समाधान खोज्ने र असल अभ्यास आदानप्रदान गर्नु रहेको छ। बैठक हरेक महिना पालैपालो फरक पालिकाको अध्यक्षतामा आयोजना हुँदै आएको छ, जसमा सम्बन्धित कार्यक्षेत्रको विज्ञ प्रस्तुतिसहित छलफल गर्ने गरिन्छ।

आजको बैठकको अध्यक्षता ग्रहण गर्दै कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्यले नगर विकास र सेवामा समान दृष्टि निर्माण गर्न सञ्जालले भूमिका खेलेको बताउनुभयो। यसअघि अध्यक्षता हस्तान्तरण गर्दै गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामाले नेपाल भाषा र तामाङ भाषालाई कामकाजी बनाउने विषयमा अघिल्लो बैठकको सुझाव फलदायी भएको उल्लेख गर्नुभयो। कीर्तिपुरका नगरप्रमुख कृष्णमान डंगोलले सञ्जालमार्फत ज्ञान, सीप र क्षमता आदानप्रदान हुँदा अधिकारको व्यवस्थित प्रयोगमा बल पुग्ने विश्वास व्यक्त गर्नुभयो।

काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले उपत्यकाको एकीकृत विकास र निक्षेपित अधिकारबाट नागरिकलाई बढी लाभ दिन सञ्जालको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो।

बैठकअघि सहभागीहरूले कीर्तिपुरस्थित टौदह, चोभारको मञ्जुश्री गुफा, बाघ भैरव लगायतका सम्पदा स्थलहरूको अवलोकन गरेका थिए। त्यस क्रममा कीर्तिपुर नगरपालिकाका वरिष्ठ अधिकृत सुजिन्द्र महर्जनले कीर्तिपुरको विकास पद्धति, सम्पदा, पर्यटन, काठमाडौं महानगरसँगको सहकार्यमा निर्माणाधीन युद्ध स्मारक पार्क र सहकार्यका अन्य सम्भावनाबारे प्रस्तुतीकरण दिनुभएको थियो। छलफलमा उपत्यकाका पालिकाहरूबीच राजस्व दरमा एकरूपता, साझा पर्यटन प्रवर्द्धन र सांस्कृतिक पर्यटनलाई परिणाममुखी बनाउने विषयमा जोड दिइएको थियो।

बैठकले काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको प्रतिष्ठित ‘योङ ग्लोबल लिडर’ मा छनोट हुनुभएकोमा बधाई तथा शुभकामना ज्ञापन गरेको थियो।