कामपाबाट तालिम लिएका उद्यमीले उत्पादन गरेका सेनिटरी प्याडको गुणस्तर परीक्षण गरी विद्यालयका छात्रालाई वितरण समन्वय गर्न उपप्रमुख डंगोलको निर्देशन
काठमाडौँ, २४ वैशाख । काठमाडौँ महानगरपालिकाले महानगरबाटै तालिम प्राप्त उद्यमीद्वारा उत्पादित सेनिटरी प्याड सामुदायिक विद्यालयका छात्रालाइ वितरण गर्ने भएको छ। उपप्रमुख सुनिता डंगोलको निर्देशन अनुसार सामाजिक विकास विभागले गुणस्तर परीक्षणपछि उक्त प्याड विद्यालयमा वितरणको समन्वय गर्नेछ।
आज बसेको सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समितिको बैठकमा उपप्रमुख डंगोलले स्थानीय उत्पादनको प्रवर्द्धनका लागि यो पहल गरिएको बताइन्। उनले प्याड प्रयोगकर्ताको उमेर र आवश्यकता अनुसार स्वच्छ, गुणस्तरीय र वातावरणमैत्री प्याडको वितरण सुनिश्चित गर्न निर्देशन दिइन्।
आर्थिक वर्ष २०८०/८१ मा महानगरले १९,९४६ छात्रालाई सेनिटरी प्याड वितरण गरिसकेको छ। ८६ वटा विद्यालयलाई १ करोड ४३ लाख ६१ हजार १२० रुपैयाँ रकम पठाइएको छ। विद्यालयले प्याड वितरण सम्बन्धी विवरण उपलब्ध गराउनु पर्ने र एक महिनावारी चक्रका लागि अधिकतम १६ वटा प्याड उपलब्ध गराइने शिक्षा विभाग प्रमुख गोविन्दप्रसाद शर्माले जानकारी दिए।
बैठकमा कक्षा ४ र ५ का छात्राहरुमा समेत महिनावारी सुरु हुने गरेको र केही छात्रालाई बढी प्याडको आवश्यकता पर्ने कुरा उठाइएको थियो।
