नीति तथा कार्यक्रम

नीति तथा कार्यक्रम पारित गर्न कांग्रेसको ह्वीप : सांसदलाई अनिवार्य उपस्थितिको निर्देशन

काठमाडौँ, २८ वैशाख । नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई आज बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।

सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा आजको बैठकमा निर्णयार्थ प्रस्तुत गरिने भएपछि कांग्रेसले यस्तो निर्देशन दिएको हो ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसदहरूलाई पठाएको सन्देशमा भनिएको छ, ‘वैशाख २८ गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि निर्णयार्थ प्रस्तुत हुने भएकाले अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न यो ह्वीप जारी गरिएको छ ।’

राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उक्त नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल जारी थियो ।

छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुभएपछि आजै उक्त नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसअघि सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमालेले पनि आफ्ना सांसदहरूलाई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न र अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरिसकेको छ ।