राष्ट्रियसभाबाट पनि नीति तथा कार्यक्रम बहुमतले पारित
काठमाडौँ, २८ वैशाख । राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो ।
सरकारले सभामा पेस गरेका नीति तथा कार्यक्रमका विविध बुँदामा सांसदहरूद्वारा प्रस्तुत संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।
त्यस क्रममा उहाँले नीति तथा कार्यक्रम सुशासन प्रवद्र्धन र विकासको गतिलाई तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित प्रस्तुत भएको बताउनुभयो ।
उहाँले सामाजिक सञ्जालको दुरुपयोग गरेर समाजमा अराजकतालाई राजनीतिक आचरणको रुपमा अगाडि बढाइएकोप्रति र जनताप्रति चिन्ता व्यक्त गर्दै प्राणलीमाथि गरिने प्रहारप्रति सचेत हुनुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रलाई अस्वीकार गर्ने र पुरानो प्रणालीको वकालतका नाममा प्रणालीको विरोध गर्ने, सार्वजनिक र जनताको सम्पत्ति हानि गर्ने तत्वविरुद्ध सजग हुनुपर्नेमा जोड दिनुभएको थियो । नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले दिनुभएका सुझावलाई आगामी बजेटमा समेट्ने विश्वास व्यक्त गर्नुभयो । ”