विनियोजन विधेयकमाथि छलफल जारी, प्रतिनिधिसभामा भूमिसम्बन्धी विधेयक पेस हुँदै

काठमाडौं, ३१ वैशाख । सङ्घीय संसद्का दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज (बुधबार) पनि बस्दैछ।

दुवै सदनमा आज पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे प्रारम्भ हुनेछ। मंगलबार पनि दुवै सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूले आ-आफ्ना धारणा राख्नुभएको थियो।

आजको प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गर्ने महत्वपूर्ण कार्यसूची रहेको छ। यसैगरी, उक्त विधेयकमाथि सांसद प्रेम सुवालले दर्ता गराउनुभएको विरोधको सूचनालाई निर्णयार्थ पेस गरिने सम्भावना छ।

त्यस्तै, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।