प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको ‘प्रशिक्षण वर्ष–२०८२’ लोगो सार्वजनिक

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको ‘प्रशिक्षण वर्ष–२०८२’ को लोगो सार्वजनिक गर्नुभएको छ।

मङ्गलबार साँझ बालुवाटारमा आयोजित पार्टीसम्बद्ध जनसङ्गठनका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिने कार्यक्रममा उहाँले उक्त लोगो अनावरण गर्नुभएको हो।
लोगो सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले मर्यादित र व्यावसायिक पत्रकारिताको विकास तथा पत्रकारहरूको सशक्तीकरणका लागि प्रेस चौतारीले थालेको अभियानको प्रशंसा गर्नुभयो।

उहाँले भन्नुभयो, “झूटा कुरालाई होइन, सत्यलाई साथ दिनुस्, तथ्य राखेर सत्यलाई स्थापित गर्ने काममा लाग्नुस्। सोसल मिडिया, डिजिटल प्लेटफर्मतिर अफवाह फैलाउने झूटका पुजारीहरूलाई प्रमाण राखेर सही बाटोमा आउन बाध्य पार्नोस्।”

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा फैलाइने भ्रमहरूलाई चिर्न पत्रकारहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। “सामाजिक सञ्जालमा ताल र सुरु बिनाका पिपिरी बाजा बजाउनेहरूलाई जवाफ दिनुहोस्,” उहाँले थप्नुभयो।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले ‘प्रशिक्षण वर्ष–२०८२’ अन्तर्गत सातवटै प्रदेश र ७७ वटै जिल्लामा पत्रकारहरूका लागि आधुनिक पत्रकारिता, डिजिटल माध्यम, प्रेस स्वतन्त्रता र श्रम अधिकारजस्ता विषयमा प्रशिक्षण सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार, यस अभियानले चौतारीमा आबद्ध पत्रकारहरूलाई वैचारिक रूपमा मजबुत र व्यावसायिक रूपमा अब्बल बनाउनेछ।

पाण्डेले तालिमले व्यावसायिक र मर्यादित पत्रकारितामा योगदान पुर्‍याउने दाबी गर्नुभयो। “यो वर्ष हामीले देशभरिका पत्रकारलाई प्रत्यक्ष प्रशिक्षण दिने लक्ष्य लिएका छौँ। प्रशिक्षणले पत्रकारहरूको व्यावसायिक क्षमता वृद्धिसँगै मिडिया क्षेत्रलाई थप मर्यादित, उत्तरदायी र जनमुखी बनाउन मद्दत गर्नेछ। जिल्ला शाखाहरूले कम्तीमा तीनवटा प्रशिक्षण कार्यक्रम आयोजना गर्नेछन्,” उहाँले भन्नुभयो।

प्रेस चौतारी नेपाल विगत २७ वर्षदेखि प्रगतिशील तथा व्यावसायिक पत्रकारहरूको हकहितमा क्रियाशील संस्था हो। पत्रकारहरूको अधिकार, पेसागत सुरक्षा र नीति निर्माणमा सङ्गठनले अग्रणी भूमिका खेल्दै आएको छ। सङ्गठनमा सात हजारभन्दा बढी पत्रकार आबद्ध रहेको बताइएको छ।