पोखरा बस दुर्घटना: २ भारतीय पर्यटकको अवस्था गम्भीर

कास्की, ३१ वैशाख । पोखरा महानगरपालिका–२२, पुम्दीभुम्दीस्थित विशाल महादेवको मूर्ति दर्शन गरी फर्कंदै गरेको भारतीय पर्यटक सवार बस आज दुर्घटनामा परेको छ।

दुर्घटनामा परी बसमा सवार २८ भारतीय पर्यटकमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य २६ जना सामान्य घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार, ग १ ख ३८८६ नम्बरको उक्त बस छोरेपाटन बजारदेखि केही माथिको घुम्तीमा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते हुनेमा भारत छत्तीसगढ निवासी ६५ वर्षीया रेखा साहु र ६१ वर्षीय कोमलराम साहु रहेका छन्। उनीहरूको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। एक जना सामान्य घाइतेलाई चरक अस्पतालमा र बाँकीलाई गण्डकी मेडिकल कलेजमा उपचारपछि अवस्था सामान्य रहेकाले होटलमा पठाउने तयारी भइरहेको एसपी ओलियाले जानकारी दिनुभयो।

भारतको छत्तीसगढबाट मंगलबार राति ४९ जनाको समूह पोखरा भ्रमणका लागि आइपुगेको थियो। उनीहरू बुधबार बिहान दुईवटा बस रिजर्भ गरी विशाल महादेवको मूर्ति दर्शन गर्न गएका थिए। फर्कने क्रममा अगाडि रहेको बस तीव्र गतिका कारण घुम्तीमा मोड्न नसकी सिधै तल खसेको दुर्घटनाग्रस्त बसमा सवार अर्का यात्री प्रदीप बर्णवालले जानकारी दिए।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण बस अनियन्त्रित भएको हुन सक्ने अनुमान गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। यसअघि प्रहरीले दुर्घटनामा चालक र सहचालकसहित कुल २२ जना घाइते भएको प्रारम्भिक जानकारी दिएको थियो।