‘हिमालयन चितुवा’ अविरलले जिते ‘के वन क्रस १७५’ को उपाधि, बनाए नयाँ कीर्तिमान
काठमाडौँ, ५ जेठ । नेपाली युवा बक्सर अविरल घिमिरे, जो ‘हिमालयन चितुवा’ का नामले चिनिन्छन्, ले किक बक्सिङमा ऐतिहासिक सफलता हासिल गरेका छन् । उनले जापानको ओसाकामा आइतबार सम्पन्न प्रतिष्ठित ‘के वन क्रस १७५’ को उपाधि जितेका हुन् ।
अत्यन्त प्रतिस्पर्धात्मक खेलमा घिमिरेले जापानी च्याम्पियन ओडा जिन्कलाई दोस्रो राउन्डमै परास्त गर्दै विश्व च्याम्पियन बने । यो जितसँगै अविरल तीनवटा अन्तर्राष्ट्रिय किक बक्सिङ उपाधि जित्ने पहिलो नेपाली खेलाडी बन्दै कीर्तिमान कायम गर्न सफल भएका छन् ।
उनका पिता एवं पूर्वअन्तर्राष्ट्रिय खेलाडी देव घिमिरेका अनुसार ‘के वन क्रस १७५’ किक बक्सिङमा अत्यन्त प्रतिष्ठित प्रतियोगिता मानिन्छ । उपाधि जितेपछि अविरलले यसलाई नेपाल र आफ्नो लागि ऐतिहासिक क्षण बताउँदै पिता, प्रशिक्षक र समर्थकलाई धन्यवाद दिएका छन् ।
यसअघि अविरलले ‘के वान वर्ल्ड म्याक्स २०२५’ र ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) को उपाधि पनि जितिसकेका छन् । उनी हाल आफ्ना पिता देव घिमिरेसँग जापानको नागोयामा बस्दै प्रशिक्षण लिइरहेका छन् ।
