सूचनाको हक सुशासनको आधार, तर सन्तुलन आवश्यक: गृहमन्त्री लेखक

काठमाडौँ, ६ जेठ । गृहमन्त्री रमेश लेखकले सूचनाको हकलाई सुशासनको आधारस्तम्भको रुपमा व्याख्या गर्दै यसको विवेकपूर्ण प्रयोगमा जोड दिनुभएको छ।

उहाँले पारदर्शिता प्रवर्द्धन गर्न सूचनाको हक अपरिहार्य भए पनि राष्ट्रिय सुरक्षा र गोपनीयताजस्ता संवेदनशील विषयमा सन्तुलन कायम गर्नुपर्ने बताउनुभयो।

राष्ट्रिय सूचना आयोगद्वारा आज काठमाडौँमा आयोजित ‘मन्त्रालयस्तरीय सूचना अधिकारीहरुसँगको अन्तर्क्रिया’ कार्यक्रममा बोल्दै मन्त्री लेखकले संविधानले प्रत्याभूत गरेको सूचनाको हक नागरिकको मौलिक अधिकार भएको स्मरण गराउनुभयो।

“नागरिकलाई सूचना दिनु राज्यको दायित्व हो भने सूचना पाउनु नागरिकको अधिकार हो। तर, सूचनाको हकको अर्थ सबै प्रकारका सूचना दिनुपर्छ भन्ने होइन,” उहाँले भन्नुभयो, “केही सूचनाहरू राष्ट्रिय गोपनीयता, सुरक्षा, मुलुकको प्रतिरक्षा, वैदेशिक र कूटनीतिक सम्बन्धसँग जोडिएका हुन्छन्। यस्ता सूचना पारदर्शिता वा सुशासनको नाममा दिँदा मुलुकको प्रणालीमा असर पर्न सक्छ।”

उहाँले संविधानले दिएको अधिकारलाई सन्तुलित र समग्रतामा बुझ्न आवश्यक रहेको औँल्याउनुभयो। मन्त्री लेखकले भन्नुभयो, “सामान्य सूचना लुकाउनु हुँदैन, दिनुपर्छ। तर यदि कुनै सूचना दिन मिल्दैन भने, त्यसको स्पष्ट कारण उल्लेख गरी गोपनीयता कायम गर्न सकिन्छ भनेर जानकारी दिनुपर्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *