गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाई, लागत ८६ करोडभन्दा बढी पुग्यो
चितवन, १० कात्तिक । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्यमा ढिलाई भएको छ। आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म करिब ६५ प्रतिशत मात्रै काम पूरा भएको छ।
भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार बजेट निकासामा ढिलाई हुँदा निर्माण कम्पनीले केही समय काम रोकेकाले सम्झौताअनुसार निर्माण अघि बढ्न नसकेको हो। रङ्गशाला निर्माणका लागि बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत खर्च व्यहोर्ने गरी सम्झौता गरिएको थियो। प्रदेश सरकारबाट बजेट निकासा हुन ढिलाई हुँदा निर्माण प्रभावित भएको उनले बताए।
निर्माण कम्पनीले पनि अपेक्षित गतिमा काम अघि बढाउन नसकेकाले पुस मसान्तसम्म निर्माण सम्पन्न हुने अवस्था नरहेको पोखरेलको भनाइ छ।
लागत बढेर ८६ करोडभन्दा बढी
निर्माण सामग्रीको मूल्यवृद्धि, मौसममा आएको परिवर्तन र पुरानै संरचनामा निर्माण गर्नुपर्ने अवस्थाले काममा ढिलाई भएको निर्माण कम्पनीका व्यवस्थापक सम्राट सिलवालले बताए। पुरानो संरचनामा निर्माण गर्नुपर्दा प्राविधिक निर्णयहरूबीच मतभेद देखिएकाले पनि समस्या उत्पन्न भएको उनको भनाइ छ।
रङ्गशाला निर्माणको पहिलो भेरिएसन अर्डर (भीओ) असोज २८ गते स्वीकृत भएको थियो। सुरुमा ७८ करोड ५० लाख ९१ हजार रुपैयाँ (भ्याटसहित) मा ठेक्का सम्झौता भएकोमा संशोधनपछि लागत बढेर ८६ करोड २४ लाख ८४ हजार रुपैयाँ पुगेको छ।
लागत बढ्नुका साथै निर्माण कार्यको दायरा पनि विस्तार भएकाले निर्धारित समयमै काम सम्पन्न गर्न कठिन भएको निर्माण कम्पनीले जनाएको छ। मुख्यगरी मैदान निर्माणको काम बाँकी रहेकाले सम्झौताअनुसार काम पूरा नहुने अवस्था देखिएको हो।
मैदान र विद्युत् जडानको काम बाँकी
भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार रङ्गशालामा मुख्य रूपमा मैदान निर्माणको काम बाँकी छ। मैदानमा चार तह माटो राखेर त्यसभित्र पाइप जडान गर्नुपर्नेछ। त्यसपछि नरम माटो राखेर बरुणा नामको घाँस रोपिनेछ।
दुईवटा टावरको निर्माण अन्तिम चरणमा पुगेको छ। चारवटा प्यारापिटमध्ये दुईवटा निर्माण सम्पन्न भएका छन् भने तेस्रो प्यारापिटको ९० प्रतिशत र चौथोको ७० प्रतिशत काम पूरा भएको छ। विद्युत् जडानको काम पनि बाँकी छ।
निर्माण कम्पनीले नियमित रूपमा काम गरे धेरै समय नलाग्ने आचार्यले बताए। उनका अनुसार हाल दैनिक करिब ८० जना कामदार निर्माणस्थलमा खटिएका छन्। दसैँको समयमा समेत निर्माण कार्य जारी रहेको उनले जानकारी दिए।
म्याद थप्ने तयारीमा निर्माण कम्पनी
निर्माणको समयसीमा नजिकिँदै जाँदा पनि काम पूरा हुने अवस्था नदेखिएपछि निर्माण कम्पनीले भरतपुर महानगरपालिकासँग म्याद थपका लागि निवेदन दिने तयारी गरेको छ। सम्झौता अवधि सकिनुभन्दा ३५ दिनअघि म्याद थपका लागि निवेदन दिनुपर्ने व्यवस्था छ।
भरतपुर महानगरपालिकाले बागमती प्रदेश सरकारसँगको सहकार्यमा २०८१ असार २४ गते हिमालयन–कालिञ्चोक बीबीआर जेभीसँग सम्झौता गरेर रङ्गशाला निर्माण अघि बढाएको थियो।
यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक अभावका कारण निर्माण कार्य अघि बढाउन नसक्ने जनाउँदै परियोजनाको दायित्व महानगरपालिकालाई सुम्पिएको थियो। त्यसपछि प्रदेश सरकारको ७० प्रतिशत र महानगरपालिकाको ३० प्रतिशत लगानी सुनिश्चित गरी अलपत्र अवस्थामा रहेको रङ्गशाला निर्माण पुनः अघि बढाइएको हो।
राष्ट्रीय तथा अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने लक्ष्य
चितवनमा राष्ट्रियस्तरको क्रिकेट क्लब चितवन राइनोजसमेत रहेकाले र पछिल्लो समय नेपाल प्रिमियर लिग (एनपीएल) प्रति आकर्षण बढ्दै गएकाले रङ्गशाला छिटो निर्माण सम्पन्न गर्नुपर्ने दबाब छ। रङ्गशाला सञ्चालनमा आएपछि भरतपुरमा राष्ट्रीय तथा अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता आयोजना गर्न सकिने अपेक्षा गरिएको छ।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले निर्माण कम्पनीलाई महानगरपालिकाको तर्फबाट गर्नुपर्ने सबै सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताए। गत आर्थिक वर्षमा भुक्तानीमा केही ढिलाई भए पनि अन्य काममा महानगरपालिकाले सहजीकरण गरेको उनको भनाइ छ।
