जैमिनीमा बसाइँसराइको चाप: दुई वर्षमा १७ सयभन्दा बढीले छोडे गाउँ
बागलुङ, ६ जेठ । बागलुङको जैमिनी नगरपालिकाबाट बसाइँ सर्नेको क्रम तीव्र गतिमा बढेको छ, जसका कारण ग्रामीण बस्तीहरू रित्तिन थालेका छन् ।
स्थानीयहरूले धमाधम गाउँ छोड्दा खेतीयोग्य जमिन बाँझो हुने र घरहरू जीर्ण बन्ने क्रम बढेको हो । मुख्यतया राम्रो सेवा-सुविधाको खोजीमा मानिसहरू शहरबजार तर्फ आकर्षित भएका हुन् । यो नगरपालिका जिल्लामै सबैभन्दा बढी बसाइँसराइ हुने पालिकाको रुपमा चिनिन्छ ।
नगरपालिकाको पञ्जिकरण शाखाका प्रमुख ताराप्रसाद पौडेलका अनुसार, पछिल्लो दुई वर्षमा जैमिनीबाट ४८२ घरपरिवारका कुल एक हजार ७०९ जनाले बसाइँ सरेका छन् । विसं २०८० मा २६३ घरपरिवारका ९४७ जना तथा विसं २०८१ मा २१९ घरपरिवारका ७६२ जनाले गाउँ छाडेका हुन् । यसै अवधिमा २६ घरपरिवारका ८६ जना बाहिरबाट जैमिनीमा बसाइँ सरेर आएको पनि नगरपालिकाले जनाएको छ ।
पौडेलले उपलब्ध गराएको तथ्याङ्क अनुसार, सबैभन्दा बढी वडा नं. ८ बाट १०७ घरपरिवारका ४०३ जनाले बसाइँ सरेका छन् भने सबैभन्दा कम वडा नं. ६ बाट १४ घरपरिवारका ५५ जनाले गाउँ छाडेका छन् । अन्य वडाहरूमा पनि उल्लेख्य संख्यामा बसाइँसराइ भएको छ, जसमा वडा नं. १ बाट १५७, वडा नं. २ बाट २५८, वडा नं. ३ बाट १००, वडा नं. ४ बाट १९१, वडा नं. ५ बाट ८३, वडा नं. ७ बाट १८६, वडा नं. ९ बाट १२९ र वडा नं. १० बाट १४७ जना रहेका छन् । उहाँका अनुसार, जैमिनीबाट बसाइँ सर्नेहरू अधिकांश चितवन, नवलपरासी र बुटवल पुगेका छन् ।
यस सम्बन्धमा नगर उपप्रमुख हरिहर शर्माले बसाइँसराइ न्यूनीकरणका लागि स्थानीयलाई गाउँमै उद्यमशील र आत्मनिर्भर बनाउने कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले बस्ती-बस्तीमा सडक, खानेपानी, विद्युत्, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा नगरपालिकाले लगानी गरिरहेको जानकारी दिनुभयो ।
शर्माले भन्नुभयो, “मानिसका चाहना असीमित हुन्छन्, स्थानीय सरकारले गर्नसक्ने विकास हामीले गरिरहेका छौँ । गाउँमा ठूलो सम्भावना हुँदाहुँदै पनि धेरैले सहर बजार रोज्न थालेका छन् । तर गाउँमा भएकालाई गुणस्तरीय सेवा प्रदान गर्न र नागरिकलाई उद्यमी बनाई आय आर्जनसँग जोड्ने खालका कार्यक्रमलाई हामीले प्राथमिकता दिएका छौँ ।”