सीमाक्षेत्रमा हुने अपराध र तस्करी नियन्त्रण गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडाैं, ९ जेठ । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशको भारतसँग सीमा जोडिएका क्षेत्रमा हुने आपराधिक गतिविधि र चोरी तस्करीलाई कडाइका साथ नियन्त्रण गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिनुभएको छ।
नेपाल सरकार गृह मन्त्रालय र मधेश प्रदेशको सम्बन्धित मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
खुल्ला सिमानाका कारण सुरक्षामा उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिँदै गृहमन्त्री लेखकले देशको बदलिँदो परिस्थितिअनुरूप इमान्दारितापूर्वक काम गर्न सुरक्षाकर्मीलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “देशमा हाल लागुऔषध, सडक दुर्घटना, आत्महत्या तथा साइबर क्राइमजस्ता सामाजिक विकृति बढ्दो छ। मधेश प्रदेशका सबै जिल्ला भारतीय सीमासँग जोडिएकाले यहाँ थप सतर्कता अपनाउन र यी समस्या रोकथाममा गम्भीर बन्न आवश्यक छ।”
साथै, उहाँले राष्ट्रसेवक कर्मचारीहरूलाई कुनै पनि आर्थिक लोभमा नपरी निष्पक्ष र सहज रूपमा सेवा प्रवाह गर्न पनि निर्देशन दिनुभयो।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई शान्तिसुरक्षा कायम गर्न कठिनाइ भइरहेको बताउनुभयो। उहाँले प्रदेशले सीमित स्रोतसाधनका बाबजुद सुरक्षा निकायलाई सहयोग गरिरहेको उल्लेख गर्दै तत्काल प्रहरी समायोजन प्रक्रिया अघि बढाउन माग गर्नुभयो।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले छिमेकी मुलुकमा देखिने द्वन्द्व र असमझदारीले नेपालको सीमाक्षेत्रमा पार्न सक्ने सुरक्षा चुनौतीप्रति सचेत रहन सुरक्षा निकायलाई आग्रह गर्नुभयो।
गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश तथा जिल्ला प्रमुखहरू, साथै आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको उपस्थिति रहेको थियो।