रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आजै आउन सक्ने
काठमाडौं, ९ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको बहस सकिएको छ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा दुवै पक्षका वकिलहरूको बहस सकिएसँगै आजै आदेश आउने सम्भावना बढेको हो।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बहस सकिएकाले आजै आदेश आउन सक्ने सम्भावना रहेको जानकारी दिनुभयो। “बहस सकिएको छ। आजै आदेश आउने सम्भावना रहन्छ,” उहाँले भन्नुभयो, “न्यायाधीशज्यूहरूले दुवै तर्फबाट भएको बहसबारे छलफल गरेर आदेश तयार पार्नुहुनेछ। आदेश टाइप गर्न र त्यसको रुजु गर्न केही समय लागे पनि शुक्रबार अदालत ५ बजेसम्म खुल्ने भएका कारण आदेश आजै आउन सक्छ।”
मंगलबारदेखि जारी सुनुवाइमा आज शुक्रबार जाहेरवाला (छविलाल जोशीका तर्फबाट) वकिलहरूले बहस गरेका थिए। यसअघि बिहीबार रवि लामिछाने र छविलाल जोशी दुवैका तर्फबाट अधिवक्ताहरूले बहस गरिसकेका थिए भने सरकारी वकिलका तर्फबाट नायब महान्यायाधिवक्ता लोकराज पराजुली, गोविन्द खनाल, दिनेश घिमिरेसहित पाँच जनाले बहस गरेका थिए।
लामिछाने पक्षबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त, रमण श्रेष्ठ, सुरेन्द्र थापा, मेघराज पोखरेल तथा अधिवक्ताहरू नारायणदत्त कँडेल, जितेन्द्र झा, राजेन्द्र सेढाइँ, सुदिक्य पन्त लगायतले बहस गर्नुभएको थियो। जोशीको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी तथा अधिवक्ता अपूर्व खतिवडाले बहस गर्नुभएको थियो।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते जिल्ला अदालतको आदेश उल्टाउँदै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।