सभामुख घिमिरेले गरे सदनको अवरोध हटाउन प्रमुख सचेतकहरूसँग छलफल

काठमाडौं, १४ जेठ । प्रतिनिधिसभामा जारी अवरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल प्रारम्भ गर्नुभएको छ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध पारेपछि उत्पन्न गतिरोध अन्त्यका लागि सभामुख घिमिरेले यो पहल लिनुभएको हो।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता देखिएको आरोप लगाउँदै उनको राजीनामालाई प्रमुख सर्त बनाएका छन्। उनीहरूले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदनको कारबाही अघि बढ्न नदिने अडान कायमै राखेका छन्।

यद्यपि, सभामुख घिमिरेले मुलुकको बजेट प्रस्तुत गर्नुपर्ने आसन्न बाध्यात्मक परिस्थितिलाई ध्यानमा राख्दै सदन सञ्चालनमा सहयोग गर्न दलहरूलाई आग्रह गरिरहनुभएको छ।

अर्कोतर्फ, सत्तापक्षले भने गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको र उनले सदनमा उठेका प्रश्नहरूको जवाफ दिने बताउँदै आएको छ।