सरकारले नयाँ कामको थालनी गरेको छ: प्रधानमन्त्री ओली

धुलिखेल, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले नयाँ कामको थालनी गरेको बताउनुभएको छ। धुलिखेल अस्पताल परिसरमा निर्माण हुने धुलिखेल ट्रमा तथा आकस्मिक केन्द्रको आज शिलान्यास गर्नुहुँदै उहाँले सरकारले नयाँ कामको थालनीका साथै पुराना कामहरूलाई पूरा गर्दै अघि बढेको स्पष्ट पार्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकारले केही काम गरेन भनेर आलोचना गरिँदैछ, तर सरकारले थुप्रै काम सुरु गरेको छ। विकास एकै दिनमा हुँदैन, बिस्तारै हुँदै जान्छ। कुरा गर्न जस्तो सजिलो काम गर्न हुँदैन, काम गर्न समय लाग्छ। काम गर्नका लागि सबैसँग ‘हामी गर्छौं’ भन्ने भावना हुनुपर्दछ।”

उहाँले कुनै पनि विषयमा टिप्पणी गर्न धेरै मानिसको आवश्यकता नपर्ने भए पनि काम गर्नका लागि भने धेरै मानिस चाहिने बताउनुभयो। सरकार कामको सुरुवात गर्न, सुरु गरिएका कामहरू सम्पन्न गर्न र ‘आशामा नै भविष्य छ’ भन्ने कुरामा विश्वास गर्ने उहाँको भनाइ थियो।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका असरहरूप्रति सचेत रहनुपर्नेमा पनि जोड दिनुभयो। साथै, उहाँले जापान नेपालको भरपर्दो मित्र राष्ट्र र विकासको महत्वपूर्ण साझेदार देशको रूपमा रहेको बताउनुभयो।