गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा तीव्रता: दुई ‘सिफ्ट’मा काम सुरु

चितवन, १६ जेठ । भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामलाई तीव्रता दिन रात्रिकालीन समयमा समेत निर्माण कार्य अघि बढाइएको छ । निर्धारित लक्ष्यअनुसार प्रगति हासिल गर्न कठिनाइ भएपछि यहाँ दुई ‘सिफ्ट’मा काम थालिएको हो ।

विगत दुई महिनादेखि निर्माण कार्य सुस्त देखिएपछि निर्माण कम्पनीबीच भएको छलफलमा कामलाई गति दिने सहमति जुटेको थियो । सोही सहमतिअनुसार मजदुर संख्या बढाएर राति पनि काम सुरु गरिएको निर्माणको जिम्मा पाएको हिमालयन कालिञ्चोक बिबिआर जेभीका सञ्चालक विकास गौतमले जानकारी दिनुभयो । हाल बिहान ७ बजेदेखि राति १० बजेसम्म १४० भन्दा बढी मजदुर कार्यरत रहेको र यो संख्या २०० नाघ्ने उहाँको भनाइ छ ।

“असार मसान्तसम्म ४० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्यका साथ जनशक्ति परिचालन गरिएको छ,” सञ्चालक गौतमले भन्नुभयो, “हाल भौतिक प्रगति करिब २० प्रतिशत छ । प्याराफिटहरूमा सेन्टिङको काम भइरहेकाले अब छिट्टै प्रगति देखिनेछ । यसअघि आवश्यक रड र सिमेन्ट समयमै नपाउँदा केही समस्या भएको थियो ।”

रङ्गशाला निर्माणका लागि सङ्घीय सरकारबाट रु २५ करोड र बागमती प्रदेश सरकारबाट रु १० करोड बजेट निकासा भइसकेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि पनि विशेष व्यवस्था गरिएको हिजाेकाे बजेटमा उल्लेख गरिएकाे छ ।

महानगरपालिकाले गौरवको आयोजनाका रूपमा प्राथमिकतामा राखेको यस रङ्गशालामा हाल प्यारापिट र भिआइपी टावर निर्माणको काम भइरहेको छ । दुईवटा भिआइपी टावरको पहिलो तला ढलानको तयारी भइरहेको छ भने पश्चिमतर्फको प्यारापिटमा सेन्टिङको काम जारी छ ।
यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण अघि बढाउन नसकेपछि महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो ।