साढे चार करोड लगानीमा नयाँ बानेश्वरमा अन्तर्राष्ट्रिय ब्यूटी स्कुल ‘आइएसएएस’ सञ्चालनमा
काठमाडौं, १६ जेठ । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्यूटी एकेडेमी, आइएसएएस (ISAS) को नयाँ शाखा काठमाडौंको नयाँ बानेश्वरमा सञ्चालनमा आएको छ। करिब साढे चार करोड रुपैयाँ लगानीमा स्थापना भएको उक्त स्कुलको उद्घाटन अभिनेत्री वर्षा सिवाकोटीले गरेकी हुन्।
एकेडेमीले ब्यूटीसम्बन्धी छोटो तथा लामो अवधिका विभिन्न तालिम प्रदान गर्ने जनाएको छ। यहाँ तालिम लिएका जनशक्तिले सौन्दर्य क्षेत्रका विविध विधामा रोजगारीका अवसर प्राप्त गर्न सक्ने बताइएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै अभिनेत्री सिवाकोटीले महिला सशक्तीकरणको अभियानमा यस एकेडेमीले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। उनले महिलाहरूलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर र उद्यमी बनाउन आइएसएएसले सघाउने बताइन्।
अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य शिक्षा प्रदान गर्ने उद्देश्यले भारतका विभिन्न सहर, दुबई र श्रीलंकापछि नेपालमा पनि यसको शाखा विस्तार गरिएको हो। आइएसएएस अन्तर्राष्ट्रिय सौन्दर्य शिक्षा क्षेत्रकी प्रतिष्ठित व्यक्तित्व तथा ‘सिडेस्को सेक्सन युएइ’की अध्यक्ष समेत रहेकी भक्ति साप्केद्वारा स्थापित ब्रान्ड हो। साप्केको नेतृत्वमा हालसम्म ११ वटा आउटलेट विस्तार भइसकेका छन् भने अमेरिकामा पनि शाखा खोल्ने तयारी भइरहेको बताइएको छ।
संस्थापक साप्केले भनिन्, “हामीले स्कुल मात्र सञ्चालन गरेका छैनौं, महिला सशक्तीकरणको दिशामा पनि काम गरिरहेका छौं। यस स्कुलले नेपाली युवायुवतीलाई विश्वस्तरीय तालिम प्रदान गरी उनीहरूको वास्तविक करिअर छनोटमा सघाउनेछ।”
एकेडेमीमा कोस्मेटोलोजी, मेकअप, नेल टेक्नोलोजी, स्पा थेरापी, सलुन तथा स्पा व्यवस्थापन, आइल्याश एक्सटेन्सन लगायत ४५ भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका पाठ्यक्रमहरू उपलब्ध छन्। यी कोर्सहरू पूरा गरेपछि विद्यार्थीहरूले सिडेस्को (स्वीट्जरल्याण्ड), पिभोट पोइन्ट (अमेरिका), एलएटिटी (लन्डन), केएचडिए र डिएचए (दुबई) तथा टिभिइटी (युएई) जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय निकायबाट प्रमाणपत्र प्राप्त गर्न सक्नेछन्।
यहाँ उपलब्ध छोटा तथा लामा अवधिका पाठ्यक्रमहरू विद्यालय तथा कलेज उत्तीर्ण गरेका, वैदेशिक रोजगारीमा जान चाहने, करिअर परिवर्तन गर्न खोजिरहेका, नयाँ उद्यम सुरु गर्न इच्छुक तथा सीप अभिवृद्धि गर्न चाहने सबैलाई लक्षित गरी डिजाइन गरिएको छ। तालिमपश्चात् विद्यार्थीहरूले युरोप, मध्यपूर्व, क्यानडा, अष्ट्रेलिया लगायतका देशहरूमा पाँचतारे होटल, लक्जरी स्पा, क्रुज लाइन तथा फेसन शो जस्ता क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्न सक्ने एकेडेमीले जनाएको छ।
प्राविधिक सीपका अतिरिक्त आइएसएएस नेपालले सफ्ट स्किल, ग्राहक सेवा, व्यवसाय व्यवस्थापन तथा खुद्रा बिक्री सम्बन्धी ज्ञानमा पनि जोड दिनेछ। आफ्नै सलुन, स्पा, नेल बार वा ब्राइडल स्टुडियो सञ्चालन गर्न चाहनेहरूका लागि विशेष परामर्श र प्रशिक्षणको व्यवस्था समेत गरिएको छ।
संस्थापक साप्के स्वयं टाइम्स फ्यासन विक, फेस अफ इन्डिया, पुणे फ्यासन विक लगायत ५० भन्दा बढी प्रतिष्ठित फेसन तथा सौन्दर्य कार्यक्रमहरूमा हेयर तथा मेकअप आर्टिस्टको रूपमा संलग्न भइसकेकी छन्। विगत १४ वर्षमा आइएसएएसबाट ९ हजारभन्दा बढी विद्यार्थीले स्नातक गरी विश्वभर आफ्नो सफल करिअर निर्माण गरिसकेको एकेडेमीले दाबी गरेको छ।
