सदनको गतिरोध अन्त्य गर्न सभामुखको पहल, दलहरू आ-आफ्नै अडानमा

काठमाडौं, २१ जेठ । प्रतिनिधिसभामा जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले सक्रियता बढाउनुभएकाे छ। ‘भिजिट भिसा प्रकरण’मा गृहमन्त्री रमेश लेखकको संलग्नताको आरोप लगाउँदै उनको छानबिन र राजीनामाको मागसहित विपक्षी दलहरूले निरन्तर सदन अवरुद्ध पारेपछि सभामुख घिमिरेले दलहरूसँग छलफल थाल्नुभएकाे हाे ।

आज दिउँसो १ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक, दलहरूबीच विवादित विषयमा सहमति जुट्न नसक्दा सुरु हुन सकेको छैन, जसले बैठकको भविष्य नै अन्योलमा पारेको छ।

विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामाको आफ्नो प्रारम्भिक अडानबाट केही पछि हट्दै प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग वा समिति गठन गर्नुपर्ने विकल्प अघि सारेका छन्। यद्यपि, सत्तापक्षले भने गृहमन्त्रीले पहिला सदनमा आफ्नो भनाइ राख्न पाउनुपर्ने र त्यसपछि मात्र अन्य मागहरूबारे छलफल गर्न सकिने अडान लिएको छ। यही अडानका कारण सहमति हुन नसकेको हो।

यदि आज दलहरूबीच कुनै समझदारी बनेमा गृहमन्त्री लेखकले सदनमा जवाफ दिने सम्भावना रहेको छ। उल्लेखनीय छ कि, यही गतिरोधका कारण हिजो बोलाइएको बैठक पनि बस्दै नबसी आजका लागि सारिएको थियो।