एक दशकमा पनि बुर्तिबाङ नयाँ सहर बन्ने सपना अधुरै, प्रगति निराशाजनक
बागलुङ, २५ जेठ । सरकारले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग छेउमा विकास गर्ने घोषणा गरेका दश नमूना सहरमध्येको बुर्तिबाङको प्रगति एक दशक बितिसक्दा पनि निराशाजनक देखिएको छ ।
वि.सं. २०६९ मा नयाँ सहर बनाउने घोषणा भएर २०७२/७३ देखि बजेटसहित काम थालिएको १२ वर्षमा आयोजनाले अपेक्षाकृत गति लिन सकेको छैन ।
आयोजनाको लक्ष्य वि.सं. २०९० सम्ममा सम्पन्न गर्ने भए पनि हालसम्मको कार्यशैली हेर्दा त्यो पूरा हुन कठिन देखिन्छ । आयोजना सुरु भएयता सरकारले रु. ७८ करोडभन्दा बढी बजेट विनियोजन गरे पनि हालसम्म जम्मा रु. ५० करोड मात्र खर्च भएको छ । अपर्याप्त र अस्थिर बजेटका कारण काममा ढिलाइ भएको आयोजना कार्यालयको भनाइ छ ।
के-के भए काम ?
आयोजनाले हालसम्म १६.३ किलोमिटर सडक ढलान, ६.३ किलोमिटर नाला निर्माण, ५ किलोमिटर नयाँ सडक ट्रयाक, एउटा सभाहल, एकीकृत भवन, मनोरञ्जन पार्क र २७२ सौर्यबत्ती जडान गरेको छ । ५६ रोपनी जग्गा अधिग्रहण पनि सम्पन्न भएको छ । हाल बसपार्क र टर्मिनल भवन निर्माणको काम भइरहेको आयोजनाका सूचना अधिकारी कोमल शाहले जानकारी दिनुभयो ।
स्थानीय असन्तुष्ट
जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र तथा ढोरपाटन शिकार आरक्षको प्रवेशद्वार भएर पनि बुर्तिबाङको अवस्था दयनीय छ । बर्सेनि करोडौँ बजेट आए पनि जनताले अनुभूति गर्ने गरी काम नभएको स्थानीय कुलमबहादुर घर्तीको गुनासो छ ।
उहाँले भन्नुभयो, “नयाँ सहर भनेको १२ वर्ष भयो, तर बजारको मुख्य सडक उस्तै साँघुरो छ, हिँड्नै डरमर्दो छ । फोहोर व्यवस्थापन छैन, खानेपानी र बसपार्क जस्ता आधारभूत कुरा पनि व्यवस्थित छैनन् । काम गरेको जस्तो देखिनुपर्यो नि, तर खासै परिवर्तन महसुस भएको छैन ।”
अझै धेरै काम बाँकी
आयोजनाले अझै व्यवस्थित कालोपत्रे सडक, विद्युतीकरण, खानेपानी, ढल निकास, उद्यान, खेलमैदान, हाटबजार, शीतभण्डार, चुरेलावासमा पुल जस्ता दर्जनौँ महत्त्वपूर्ण पूर्वाधार निर्माण गर्न बाँकी छ । हरेक वर्ष बजेटको आकार घटबढ हुनुले पनि लक्ष्यअनुसार काम गर्न नसकिएको आयोजना कार्यालयको स्वीकारोक्ति छ । बढ्दो सवारी चाप र अव्यवस्थित बजारका कारण नयाँ सहरको अवधारणा कागजमै सीमित हुने हो कि भन्ने चिन्ता बढेको छ ।