तुलसीपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३४ घाइते

दाङ, २५ जेठ। तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुदा दुईको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

दुर्घटनामा दङ्गीशरण गाउँपालिका–२ का ६५ वर्षीय नारायण भण्डारी र सोही ठाउँकी २५ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जनाएकाे छ ।

उहाँका अनुसार तुलसीपुर–अमलिया खण्डअन्तर्गत गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना४ख ४००९ नम्बरको यात्रुवाहक बस र तुलसीपुरबाट बखरियातर्फ गइरहेको ज्ञानज्योति बोर्डिङ स्कुलको रा१क ८७० नम्बरको खाली बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेकाे छ भने १५ को मध्यम र बाँकीको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक रानाले बताएका छन् । घाइते सबैको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जनाउँदै उहाँले बसमा सवार अधिकांश एउटै गाउँका रहेका बताउनुभयो ।

घाइतेहरूलाई तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।