दशक पुरानो वृद्ध भत्ता प्रकरण: पूर्व गाविस अध्यक्षसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, १ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको साविक नरैनापुर गाविसमा भएको वृद्ध भत्ता हिनामिना प्रकरणमा तत्कालीन गाविस अध्यक्षसहित १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अभियोग-पत्रमा तत्कालीन गाविस अध्यक्ष अजयकुमार श्रीवास्तव, तत्कालीन गाविस सचिवहरू सावितराम कुर्मी र अशोककुमार श्रीवास्तव तथा नक्कली परिचयपत्रका आधारमा भत्ता बुझ्ने १४ जनालाई प्रतिवादी बनाइएको छ।

अख्तियारका अनुसार, आर्थिक वर्ष २०५७/५८ देखि २०७२/७३ सम्मको लामो अवधिमा उमेर नपुगेका, नागरिकताविहीन तथा भारतमा विवाह गरी गइसकेका व्यक्तिहरूको नाममा नक्कली परिचयपत्र बनाएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो।

यसरी राज्यकोषमा कुल ६ लाख ५६ हजार ७ सय रुपैयाँ हानिनोक्सानी पुर्‍याएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।

उक्त प्रकरणमा भत्ता बुझ्नेमध्ये ५ जनाको मृत्यु भइसकेकाले उनीहरूको भागको बिगो रकम तत्कालीन गाविस सचिव सावितराम कुर्मीबाट असुलउपर गर्न मागदाबी गरिएको अख्तियारले जानकारी दिएको छ।