दैलेखमा मिथेन ग्यासको विशाल भण्डार पुष्टि, ५० वर्षसम्मको माग धान्ने सम्भावना
दैलेख, ५ असार। दैलेखको जलजले क्षेत्रमा मिथेन ग्यासको विशाल भण्डारण रहेको पुष्टि भएको छ, जसले नेपालको ऊर्जा भविष्यमा नयाँ आशा जगाएको छ।
चीनको जिओलोजिकल सर्भे कम्पनीले गरेको अन्वेषणको प्रारम्भिक प्रतिवेदनले यस क्षेत्रमा व्यावसायिक उत्पादन गर्न सकिने गरी ग्यासको भण्डारण रहेको देखाएको हो।
प्रतिवेदनअनुसार, चार हजार मिटरभन्दा गहिरो ड्रिलिङ गरी गरिएको परीक्षणबाट एउटै कुइँकानमा करिब एक अर्ब १२ करोड घनमिटर ग्यास रहेको पुष्टि भएको छ। परियोजनाले चारवटा सम्भावित कुइँकानको प्रारम्भिक अनुमानका आधारमा यस क्षेत्रमा कूल ४३० अर्ब घनमिटर ग्यास हुनसक्ने प्रक्षेपण गरेको छ। यदि यो अनुमान यथार्थमा परिणत भए, यसले नेपालको करिब ५० वर्षसम्मको ग्यास मागलाई पूरा गर्न सक्नेछ।
यस्तो छ परियोजना र प्रतिवेदन
खानी तथा भूगर्भ विभागका अनुसार, नेपाल र चीन सरकारबीच २०१९ मा भएको सम्झौता (जिटुजी) पछि यो अन्वेषण सुरु गरिएको हो। यो परियोजना अहिलेसम्मकै सबैभन्दा गहिरो र वैज्ञानिक अन्वेषण हो। विभागका उप–महानिर्देशक दिनेशकुमार नापितले भने, “यो प्रारम्भिक नतिजा हो। ग्यासको गुणस्तर र व्यावसायिक उत्पादनको सम्भाव्यतामा विस्तृत परीक्षण जारी छ। चिनियाँ कम्पनीले २०२५ डिसेम्बरसम्ममा अन्तिम प्रतिवेदन बुझाउनेछ र त्यसलगत्तै व्यावसायिक उत्पादन परीक्षण सुरु गर्ने योजना छ।”
नाकाबन्दीले खुलाएको अवसर
विसं २०७२ मा भारतले लगाएको नाकाबन्दीले सिर्जना गरेको इन्धन संकटपछि सरकार स्वदेशी ऊर्जा स्रोतको खोजीमा गम्भीर बनेको थियो। यही पृष्ठभूमिमा दैलेखको सम्भावनालाई मूर्त रूप दिन नेपाल र चीनबीच २०७५ माघमा अन्वेषण सम्झौता भएको थियो। यो परियोजना चीन सरकारको करिब साढे दुई अर्ब रुपैयाँको अनुदान सहयोगमा सञ्चालित हो।
स्थानीयमा उत्साह, देशलाई ऊर्जा सुरक्षाको आशा
परियोजनाले सार्थकता पाउने संकेत देखिएपछि दैलेखवासी र सरोकारवालाहरू उत्साहित भएका छन्। उत्खनन र प्रशोधन सुरु भएमा स्थानीय स्तरमा रोजगारी सिर्जना हुने र औद्योगिक वातावरण बन्ने उद्योग वाणिज्य सङ्घ, दैलेखका अध्यक्ष नरेन्द्र थापाले बताए।
यो परियोजना सफल भएमा नेपालको ऊर्जा सुरक्षाका लागि यो एक ऐतिहासिक फड्को साबित हुनेछ। प्रारम्भिक अनुमानअनुसारकै भण्डारण पुष्टि भएमा नेपाल इन्धन आयातमाथिको निर्भरताबाट मुक्त हुँदै ऊर्जामा आत्मनिर्भर बन्ने मार्गमा अघि बढ्नेछ।