आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
सिरहा, ६ असार । यो आँप पाक्ने याम हो । सिरहाका बजारमा मात्र होइन सडक किनारका साथै यत्रतत्र आँपैआँपै देखिन्छन् । केही आँप उत्पादक किसान ग्राहकको प्रतीक्षामा भेटिन्छन् भने केहीलाई बेच्न भ्याइनभ्याइ छ । पूर्वपश्चिम राजमार्गस्थित सडक किनारा आँपले छपक्कै ढाकिएका छन् । मालदहलगायत आँपको सुवासले सिरहा मगमगाइरहको छ । हरेक घरको आँगन, बगैँचाको कुना र बजारको छेउमा बगिरहेको आँपको सुगन्ध सिरहाको पहिचान हो । हावामा घुलिएको त्यो सुगन्ध, जुन स्वादमा बदलिन्छ । यही स्वाद अब व्यवसाय, रोजगारी र आत्मनिर्भरताको गाथा बन्न थालेको छ ।
आँपको राजधानीका रूपमा लिइन्छ सिरहालाई । यद्यपि, यो उपाधि कुनै आधिकारिक निकायले दिएको नभएर जनमानसमा विकसित भएको उपमा हो । सिरहालाई ‘आँपको राजधानी’ भन्ने चलन यसको बृहत् उत्पादन, समथर भूभाग, गर्मी मौसम, विशिष्ट गुणस्तर र व्यापारिक महत्वजस्ता कारण मुख्य हुनसक्छ । आँप केवल स्वादिलो फलमात्र होइन, यो पोषण, स्वास्थ्य, संस्कृति र अर्थतन्त्रसँग गाँसिएको फल पनि हो । त्यही भएर यसलाई ‘फलको राजा’ मात्र नभई ‘जीवनको फल’ पनि मानिन्छ । यसको खेतीमा जीवनयापन गर्ने हजारौँ व्यावसायिक किसानको आशा, मेहनत र भविष्य यसैमा गाँसिएको हुन्छ । आँप केवल स्वाद र सुगन्धको प्रतीकमात्र होइन, यो धेरैका लागि जीवनको आधार पनि हो ।
गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाका किसान भरत यादव र निरज सिंहले करिब सय बिघा क्षेत्रफलमा फैलिएको आँपको व्यवस्थित बगैँचा तयार गरेका छन्, जुन अहिले जिल्लाकै सबैभन्दा ठूलो व्यावसायिक आँपखेतीको नमूना बनेको छ । यो बगैँचाले केवल उत्पादनको मात्रामा मात्र योगदान दिएको छैन, जिल्लामा व्यावसायिक आँपखेतीतर्फ किसानको रुचि बढाउने प्रेरणा पनि प्रदान गरेको छ । “पहिला परम्परागत रूपमा खेती गथ्र्यौँ, अहिले भने बजार, प्रविधि र व्यवस्थापनमा ध्यान दिएर व्यावसायिक बनाएका छौँ”, किसान निरज सिंहले भन्नुभयो, “आँपखेतीबाट दैनिक २५ देखि ३० जनाले रोजगारी पाउने गरेका छन् । सिजनमा दुई सयदेखि पाँच सय कार्टुनसम्म आँप टिप्ने, प्याक गर्ने र त्यसलाई काठमाडौँ, पोखरा, वीरगञ्ज, जनकपुरसम्म लैजाने गरेका छौँ ।” बगैँचाबाट हरेक वर्ष लाखौँ रूपैयाँको आँप बिक्री हुने गरेको उहाँको भनाइ छ ।
नेपालमा आँपको मुख्य मौसम सुरू नहुँदै बजार भारतीय आँपले भरिने क्रम यस वर्ष पनि दोहोरिएको किसान सिंहले दुःखेसो पोख्नुभयो । उहाँका अनुसार, जेठको दोस्रो सातादेखि नै नेपालका सहरबजारमा भारतीय आँपको बर्चस्व देखिन्छ, जबकि स्थानीय आँप असारको पहिलो, दोस्रो हप्तामात्र परिपक्व हुन सुरू गर्छन् । “यसले गर्दा देशभरका व्यावसायिक किसान चिन्तित छन्”, उहाँले भन्नुभयो ।
यहाँका आँप बजारमा आउनुअघि नै सस्तो दरमा भारतीय आँप बग्रेल्ती भित्रिएपछि यहाँका किसान प्रतिस्पर्धामा पछाडि परेका छन् । सिरहाको मुसहर्नियाका व्यावसायिक कृषक भरत यादव भन्नुहुन्छ, “हामीले मेहनत गरेर आँप उत्पादन गर्यौँ, तर भारतीय आयातले हाम्रो उत्पादनलाई बजार नै नदिएपछि ठूलो घाटा सहनुपरेको छ । एकातिर आँपको उत्पादन घटयो, अर्कातर्फ बजार मूल्य उस्तै रह्यो ।” भारतीय आँप नेपालमा सस्तो मूल्यमा पाइने भए पनि, उपभोक्ताले धेरैजसो अवस्थामा रसायन प्रयोगको डर, कम स्वाद र कम ताजगीजस्ता गुनासो व्यक्त गर्ने गरेका छन् ।
नेपालमा फलफूल आयातका सम्बन्धमा स्पष्ट नीतिको अभाव, कमजोर सीमास्तर निगरानी र स्थानीय उत्पादनको संरक्षण नहुनु मुख्य कारण मानिन्छ । किसानहरू भन्छन्, “नेपाल सरकारले कागजमा आत्मनिर्भरता भन्ने नारा लगाउँछ, तर व्यवहारमा किसानको संरक्षण छैन ।” स्वाद र गुणस्तरमा अब्बल भए पनि स्थानीय आँप उत्पादनले बजारमा भारतीय फलसँग प्रतिस्पर्धा गर्न कठिनाइ भोगिरहेको छ ।
विदेशी आँप बढी चम्किला, आकर्षक देखिए पनि तीमध्ये धेरैमा अत्यधिक विषादी वा रसायन प्रयोग हुने गरेको खबर सार्वजनिक भइरहन्छन् । लहान–२४ का व्यावसायिक किसान शम्भु चौधरी भन्नुहुन्छ, “हामीले रोग नियन्त्रणका लागि केही जैविक उपायमात्र अपनाउँछौँ र अत्यधिक विषादी प्रयोग गर्दैनौँ । यसैले हाम्रो आँप स्वादिलो, सुरक्षित र ताजा हुन्छ ।”